काठमाडौं रेजर्स फुटबल क्लबको मार्की प्लेयरमा कुथु र कोचमा बालगोपाल
नेपाल सुपर लिगका लागि काठमाडौं रेजर्स फुटबल क्लबले विकेश कुथु र बालगोपाल महर्जनलाई क्लबको मार्की प्लेयर र कोचका रुपमा सार्वजनिक गरेको छ । केही साताभित्रै सुरु हुने नेपाल सुपर लिगको पहिलो संस्करणमा उतार्न काठमाडौं रेजर्सले बिहीबार उनीहरुलाई मार्की प्लेयर र कोचका रुपमा सार्वजनिक गरेको हो । विकेश कुथु नेपालको राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण सदस्य तथा कुशल गोल किपर हुन् ।
१९ वर्षकै उमेरमा राष्ट्रिय टिममा डेब्यु गर्न सफल विकेशले मोफसले टुर्नामेन्टहरुमा हालसम्म ७ पटक बेस्ट गोल किपर अवार्ड पाइसकेका छन् । साग फुटबल, बनबन्धु कप र एएफसी सोलिडारिटी कपमा नेपालले गोल्ड मेडल हासिल गर्दा उनले आफुलाई टिमका महत्वपूर्ण सदस्य सावित गरेका थिए ।
त्यस्तै नेपाली फुटबल टिमका विरासत चर्चित खेलाडी बालगोपाल महर्जनलाई काठमाडौं रेजर्सले कोचका रुपमा अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय टिमलाई लामो समयसम्म नेतृत्व दिएका महर्जनले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा आफ्नो रणनैतिक क्षमतालाई प्रदर्शन गरिसकेका छन् ।
त्यस्तै विज्ञानराज शर्मालाई टिमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको छ । कार्यक्रममा काठमाडौं रेजर्शका विष्णुकुमार अग्रवालले नेपाली फुटबलको विकास र विस्तारमा नपलको विगत लामो समयदेखि साथ रहँदै आएको बताए ।