एसियाली खेलकुदमा नेपालको पदक आशा कमजोर, सानुमाया र विजय पहिलो चरणमै बाहिरिए
काठमाडौं— जापानको नागोया–आइचीमा जारी २०औँ एसियाली खेलकुदमा नेपालका कराँते खेलाडी सानुमाया थिङ र उसु खेलाडी विजय सिञ्जाली पहिलो चरणबाटै बाहिरिएका छन् । पदकको आशा गरिएका दुवै खेलाडी आफ्नो पहिलो प्रतिस्पर्धामै पराजित भएपछि नेपालको पदक सम्भावनामा धक्का लागेको छ ।
कराँतेमा सानुमायाको यात्रा टुंगियो
गिफु प्रिफेक्चरस्थित तोयोहाशी जिम्नेसियममा भएको कराँते काताको अन्तिम १६ को प्रतिस्पर्धामा सानुमाया थिङ दक्षिण कोरियाकी चो हाउनसँग ५–० को सोझो अंकले पराजित भइन् ।
पहिलो खेलमै पराजित भएपछि सानुमाया क्वार्टरफाइनलमा पुग्न सकिनन् । अब कराँतेमा नेपालको चुनौती अलिशा रास्कोटी मगर र मेघा लिम्बूको टिमतर्फ रहनेछ ।
उसुमा विजय १९औँ स्थानमा सीमित
पदकको अर्को सम्भावना बोकेका उसु खेलाडी विजय सिञ्जाली पनि आइचीस्थित मार्सलआर्ट हलमा भएको चाङ्सेन प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
प्रतियोगितामा सहभागी २१ खेलाडीमध्ये विजय ९.१४६ अंकसहित १९औँ स्थानमा रहे । उनले क्वालिटी अफ मुभमेन्टतर्फ ४.७०, २.६४६ र १.८० अंक प्राप्त गरेका थिए ।
यस विधामा मकाउका क्वोङ सीएचले ९.७२३ अंकसहित स्वर्ण पदक जिते । मकाउकै सङ सीकेले ९.७२० अंकसहित रजत तथा इन्डोनेसियाकी सिरेगार एसएनले समान ९.७२० अंकसहित कांस्य पदक प्राप्त गरिन् ।
यसअघि विजयले उसु विश्वकपको थाउलोतर्फ ऐतिहासिक कांस्य पदक जितेका थिए ।