संस्था चाहिन्छ कि समझदारी पुग्छ? वाग्लेको प्रश्नमा जयशंकरको जवाफ- विश्व अब तदर्थ सहकार्यतर्फ जाँदैछ – Nepalboli

संस्था चाहिन्छ कि समझदारी पुग्छ? वाग्लेको प्रश्नमा जयशंकरको जवाफ- विश्व अब तदर्थ सहकार्यतर्फ जाँदैछ

   २०८३ कार्तिक ७, शुक्रबार  

काठमाडौं—बहुपक्षीयताको जग हल्लिँदै गरेको बेला विश्वले कस्तो सहकार्य रोज्ने रु कडा नियम भएको औपचारिक संस्था बनाउने कि लचिलो र काम गर्ने सानो समूहमा बस्ने ? यही मूल प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा.एस. जयशंकरबीच दिल्लीमा गहन विमर्श भएको छ ।

भारतीय टेलिभिजन एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ सत्रमा बिहीबार दुई नेताबीच यो बहस भएको हो । सत्रमा विदेशमन्त्री जयशंकर प्रमुख वक्ता र अर्थमन्त्री वाग्ले अतिथि वक्ता थिए ।

वाग्लेको प्रश्न? विखण्डन बढेको बेला सहकार्य कसरी ?

अर्थमन्त्री वाग्लेले शीतयुद्धपछि बनेको बहुपक्षीय आर्थिक(व्यापारिक व्यवस्था पछिल्ला वर्ष कमजोर बन्दै गएको औंल्याए । विश्व व्यापार गुटमा बाँडिँदै गएको र विखण्डन बढेको अवस्थामा विपद् प्रतिकार्य, पोषण, ऊर्जा र स्वच्छ ऊर्जाजस्ता साझा एजेन्डामा द्विपक्षीय, त्रिपक्षीय र क्षेत्रीय सहकार्य कसरी अघि बढाउने भन्ने उनको जिज्ञासा थियो ।

उनले जयशंकरलाई सोधे–अबको बहुध्रुवीय विश्वमा सहकार्यका लागि कडा संस्थागत ढाँचा नै चाहिन्छ, कि साझेदारबीचको व्यावहारिक समझदारीले नै काम गर्छ ?

जयशंकरको जवाफः विश्व अब AD-HOC मोडलमा

जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले पछिल्ला दुई दशकको ट्रेन्ड प्रष्ट पारे । उनका अनुसार देशहरू जटिल औपचारिक प्रतिबद्धताभन्दा लचिलो, छिटो र नतिजा दिने सहकार्यतिर आकर्षित भएका छन् ।

औपचारिक संरचना बनाउनै वार्ता, प्रशासन र नियम बनाउन वर्षौं जान्छ, अनि मूल उद्देश्य नै ओझेलमा पर्छ, जयशंकरले भने । सबै सहकार्यलाई एउटै संस्थागत साँचोमा बाँध्नु नपर्ने उनको तर्क थियो ।

उदाहरण दिँदै उनले भने– ब्रिक्सको आफ्नै सचिवालय छैन, लिखित बडापत्र छैन, तर पनि प्रभावकारी रूपमा चलिरहेको छ । यो साङ्घाई सहयोग संगठन (SCO) भन्दा फरक मोडल हो ।

प्रवृत्तिकै कुरा गर्ने हो भने, विश्व राजनीति अहिले बढी तदर्थAD-HOC र समान विचारधारा भएका देशहरूको सानो समूह तर्फ गइरहेको छ, जयशंकरले भने । भारतले पछिल्लो एक दशकमा यस्तै ५० वटा साना, तर परिणाममुखी समूह बनाएर काम गरिरहेको उनले खुलाए ।

वाग्लेले गरे भारतको प्रशंसा

संवादकै क्रममा अर्थमन्त्री वाग्लेले सङ्कटमा भारतले देखाएको छिमेकी धर्मको प्रशंसा गरे । २०१५ को महाभूकम्प होस् वा भर्खरै रसुवा-भोटेकोशीमा आएको विपद्, भारतले केही घण्टामै उद्धार र सहायता पठाएको भन्दै उनले नेपाल कृतज्ञ रहेको बताए ।

विश्लेषकहरूका अनुसार औपचारिक सार्कजस्ता ठूला संरचना थला परेको बेला वाग्ले–जयशंकरको यो बहसले साना र छिटो काम गर्ने क्षेत्रीय सहकार्यको नयाँ बाटो खोजेको संकेत गर्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै