रास्वपा सभापति रविको तीन दिने मौन तीर्थयात्रा, उत्तराखण्डदेखि असमसम्म पूजापाठ गर्ने
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पछिल्लो राजनीतिक दौडधुपबाट केही दिन टाढा रहँदै धार्मिक यात्रामा निस्किएका छन् ।
श्रीमती निकिता पौडेलसहित उनी बुधबार धनगढीको स्थलमार्ग हुँदै तीन दिने पारिवारिक तीर्थयात्राका लागि भारत प्रस्थान गरेका हुन् ।
सभापतिको निजी सचिवालयका अनुसार यो भ्रमण पूर्ण रूपमा निजी र धार्मिक हो । कुनै राजनीतिक भेटघाटको कार्यसूची नरहेको सचिवालयले स्पष्ट पारेको छ ।
तीन दिने यात्राका क्रममा लामिछाने दम्पतीले दुई प्रसिद्ध शक्तिपीठको दर्शन गर्नेछन् ।
पहिलो, उत्तराखण्डको नैनीतालस्थित नीम करोली बाबाको चर्चित कैंची धाम र दोस्रो, असमको गुवाहाटीस्थित ५१ शक्तिपीठमध्येको एक कामाख्या मन्दिर। दुवै स्थानमा स–परिवार विशेष पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ ।
हालैका राजनीतिक व्यस्तता र अदालती प्रक्रियापछि लामिछानेको यो तीर्थयात्रालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ, यद्यपि सचिवालयले यसलाई विशुद्ध आध्यात्मिक विश्राम भनेको छ ।
धार्मिक अनुष्ठान सकेर उनीहरु तीन दिनपछि स्वदेश फर्किने तालिका छ ।