PHP को एउटै कमजोरीले हल्लायो विश्वः सार्वजनिक भएको ४५ मिनेटमै लाखौं साइबर आक्रमण, बैंकदेखि रेल सेवासम्म बन्द
काठमाडौं— इन्टरनेट धानिरहेको सबैभन्दा पुरानो प्रोग्रामिङ भाषा पीएचपीमा लुकेको एउटै सुरक्षा प्वालले बुधबार विश्वभरका सरकार र ठूला कम्पनीलाई रातभर सुत्न दिएन ।
विश्वका करोडौं वेबसाइट चलिरहेका पीएचपीमा गम्भीर कमजोरी छ भन्ने खबर सार्वजनिक हुनेबित्तिकै ह्याकरहरूले त्यसको दुरुपयोग गर्न दौड सुरु गरे । क्लाउड सेवा प्रदायकहरूका अनुसार यो इतिहासकै सबैभन्दा छिटो फैलिएको साइबर आक्रमणको लहर हो ।
४५ मिनेटमै दशौं हजार आक्रमण
क्लाउडफ्लेयरका प्रमुख कार्यकारी म्याथ्यू प्रिन्सका अनुसार कमजोरी सार्वजनिक हुनुअघि नै उनीहरूको नेटवर्कमा हजारौं शंकास्पद प्रयास देखिएका थिए । तर सार्वजनिक भएको ४५ मिनेट नबित्दै त्यो संख्या दशौं हजार पुग्यो । दुई घण्टाभित्र लाखौं र त्यसपछि त गणना नै गर्न नसकिने गरी आक्रमणको प्रयास भयो । अमेजनले पनि यस्तै अस्वाभाविक र व्यापक आक्रमण देखिएको पुष्टि गरेको छ ।
यो कमजोरी एआईको सहयोगमा वर्षौंदेखि लुकेर बसेको अवस्थामा फेला परेको बताइएको छ । पीएचपी विकासकर्ताहरूले बुधबार नै यसको प्याचसहितको नयाँ संस्करण सार्वजनिक गर्दै सबैलाई तुरुन्त अपडेट गर्न चेतावनी दिएका छन् ।
जापानदेखि फिनल्यान्डसम्म त्रास
रोयटर्सका अनुसार आक्रमणको त्रासले बुधबार युरोपदेखि एसियासम्मका सरकारी निकायले आफ्ना वेबसाइट नै बन्द गर्नुपर्यो ।
जापानमाः नोमुरा, मित्सुबिसी यूएफजे बैंक, एएनए एयरलाइन्स, इस्ट जापान रेलवे, अर्थ मन्त्रालय, मौसम विभाग र राष्ट्रिय कर एजेन्सीले अनलाइन सेवा रोके ।
युरोपमाः फ्रान्सको ओरेन्ज टेलिकमले आफ्ना पीएचपीमा आधारित साइट बन्द गर्यो । फिनल्यान्डको सरकारी आईटी प्रदायक भाल्टोरीले सबै सरकारी सेवा बन्द गरेर अपडेट थालेको छ, जुन पूर्ण रूपमा खुल्न हप्तौँ लाग्न सक्ने बताएको छ ।
माइक्रोसफ्टका सीईओ नै झस्किए
जर्मनीमा आयोजित एक कार्यक्रममा माइक्रोसफ्टका प्रमुख सत्य नाडेलाले भने, यस्तो घटना लामो समयदेखि देखिएको थिएन । उनले सफ्टवेयर जति जटिल बन्दै गएको छ, त्यसलाई सुरक्षित राख्नु त्यति नै चुनौतीपूर्ण बनेको बताए ।
चीनको उद्योग मन्त्रालयले सबै सरकारी निकायलाई तत्काल सिस्टम जाँच्न निर्देशन दिएको छ भने दक्षिण कोरियाले निजी क्षेत्रको साइबर सतर्कता उच्च बनाएको छ ।
नेपाललाई के असर ?
सुरक्षा विज्ञहरूका अनुसार नयाँ भर्सनमा अपडेट गर्न सजिलो भएका साइट केही घण्टामै सुरक्षित हुन्छन्, तर पुरानो पीएचपीमा चलिरहेका, सरकारी र बैंकिङजस्ता जटिल प्रणाली भएका संस्थालाई हप्तौँ लाग्न सक्छ । कतिपय पुराना भर्सनमा त प्याच नै नआउने भएकाले पूरै सिस्टम फेर्नुपर्ने अवस्था छ ।
विश्वभर अहिले क्षतिको यकिन विवरण संकलन भइरहेको छ ।