२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते – Nepalboli

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

   २०८३ कार्तिक ८, शनिबार  

काठमाडौँ— देशभर पछिल्लो २४ घण्टामा आगलागीदेखि सर्पदंश र पहिरोसम्मका २० वटा विपद्का घटना भएका छन् । घटनामा परी आठ जना घाइते भएका छन् भने करिब २४ लाख १५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि आजसम्म देशका विभिन्न जिल्लामा विपद्का घटना भएका हुन् । मानवीय ज्यान जाने घटना नभए पनि आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो र जनावरको आक्रमणका कारण सर्वसाधारण प्रभावित भएका छन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सप्तरी, धादिङ, गोरखा, कञ्चनपुर र डडेल्धुरामा सर्पदंशका घटना भएका छन्। यस्तै मोरङ, सुनसरी, बारा, नवलपरासी पूर्व, दाङ, सल्यान, कैलाली र डडेल्धुरामा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।

मनाङ र डोल्पामा लेक लाग्ने तथा म्याग्दीमा पहिरोको घटना भएको छ । कास्की र कैलालीमा भने जनावरको आक्रमणका घटना भएका छन् ।

यी घटनामा परी घाइते भएका आठ जनामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्यत्र पठाइएको प्राधिकरणले जनाएको छ ।

विपद्का घटनाबाट भएको क्षतिको थप विवरण सङ्कलन भइरहेको तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकाय परिचालित रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने सर्वसाधारणलाई सतर्क रहन, विपद्को संकेत देखिए तत्काल स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई जानकारी गराउन र आधिकारिक सूचनाको मात्र पालना गर्न आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै