जनकपुर प्रादेशिक अस्पतालमा नवजात शिशु साटिएको आरोप, डीएनए परीक्षण माग
जनकपुरधाम— जनकपुरस्थित प्रादेशिक अस्पतालमा जन्मिएको नवजात शिशु साटिएको आशंका गर्दै एक परिवारले सत्यतथ्य पत्ता लगाउन डीएनए परीक्षणको माग गरेको छ ।
महोत्तरीको भङ्गहा नगरपालिका–९ का २४ वर्षीय अरुण सदाले आफ्नी पत्नीबाट जन्मिएको शिशु साटिएको आशंका गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका हुन् ।
अरुणका अनुसार उनकी २० वर्षीया पत्नी सरिता सदालाई प्रसव व्यथा लागेपछि शुक्रबार अपराह्न ४ बजे जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन साँझ ६ बजेर ३७ मिनेटमा सरिताले शिशु जन्माएकी थिइन् ।
अरुणले बच्चा जन्मिएलगत्तै आफू र परिवारका सदस्यलाई ८८छोरा देखाइएको८८, तर केही समयपछि हेर्दा छोरी रहेको दाबी गरेका छन् । अस्पतालका नर्सले समेत छोरी नै जन्मिएको बताएपछि आफूहरूलाई बच्चा साटिएको आशंका भएको उनले बताएका छन् ।
घटनाबारे यथार्थ पत्ता लगाउन अरुणले नवजात शिशु र आफ्नो डीएनए परीक्षणका लागि आवश्यक नमुना संकलन गरिदिन प्रहरीसमक्ष माग गरेका छन् ।
उनले अस्पतालमा बच्चा जन्मिएदेखि आफूलाई देखाइएको अवस्थासम्मको घटनाक्रम छानबिन गरी वास्तविकता सार्वजनिक गर्नसमेत आग्रह गरेका छन् ।
प्रहरीले निवेदनमाथि आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ । डीएनए परीक्षणलगायतका वैज्ञानिक परीक्षणबाट मात्रै बच्चा साटिएको आशंकाबारे यथार्थ पुष्टि हुने देखिन्छ ।