कोजाग्रत पूर्णिमासँगै दसैँको औपचारिक बिदाइ, आज महालक्ष्मीको आराधना
काठमाडौँ— बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा मनाइँदैछ । दसैँको टीका र जमरा लगाउने क्रम समाप्त गर्दै आज साँझ धनधान्यकी देवी महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ ।
आश्विन शुक्ल पूर्णिमाका दिन पर्ने कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा समेत भनिन्छ । धार्मिक मान्यताअनुसार आज राति को जाग्राम बसेर महालक्ष्मीको आराधना गर्छ, उसकै घरमा देवी प्रवेश गरी धनधान्यले सम्पन्न बनाउने विश्वास छ ।
विजयादशमीदेखि सुरु भएको टीका तथा जमरा लगाउने परम्परा पनि आजबाट औपचारिक रूपमा समाप्त हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुकी अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादका रूपमा दसैँको टीका र जमरा लगाउन शास्त्रसम्मत मानिन्छ ।
आज बिहान दसैँघरमा राखिएका फूल, प्रसाद तथा जमराका अवशेषलाई नजिकका नदी, तलाउ, पोखरीलगायत तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा छ ।
कोजाग्रत पूर्णिमासँगै दसैँको बिदाइ र तिहारको तयारीको चरण सुरु भएको मानिन्छ । भोलिदेखि कात्तिक स्नान तथा आकाशदीप दान गर्ने धार्मिक परम्परा सुरु हुन्छ ।
यस्तै, आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान, तुलसी पूजा तथा अन्य धार्मिक अनुष्ठान गर्ने चलन छ । कात्तिक स्नान गर्नेले यस अवधिमा दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमासलगायत अन्न नखाने शास्त्रीय मान्यता रहेको छ ।
यसरी कोजाग्रत पूर्णिमाले एकातर्फ बडादसैँको समापन गराउँछ भने अर्कोतर्फ कात्तिक महिना तथा आगामी तिहार पर्वका लागि धार्मिक वातावरण तयार गर्ने परम्परालाई निरन्तरता दिन्छ ।