वर्षाले रोक्यो नेपालको पदक यात्रा, श्रीलङ्कासँग खेल नै नभई एसियाली खेलकुदबाट बाहिरियो
नागोया— एसियाली खेलकुदमा नेपालले क्रिकेटतर्फ सेमिफाइनल पुग्ने अवसर फेरि गुमाएको छ । जापानमा जारी २०औँ आइची–नागोया एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
नागोयास्थित कोरोगी स्पोर्टस पार्कमा आज तय भएको नेपाल र श्रीलङ्काबीचको क्वार्टरफाइनलमा लगातार वर्षाका कारण टससमेत हुन सकेन । मैदान खेल सञ्चालनका लागि तयार हुन नसकेपछि खेल रद्द गरियो ।
खेल रद्द भएसँगै प्रतियोगिताको नियम नेपालका लागि प्रतिकूल बन्यो । खेल सञ्चालन हुन नसकेको अवस्थामा ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता मानेर अर्को चरणमा पठाउने प्रावधानअनुसार श्रीलङ्का सेमिफाइनल पुगेको हो ।
हालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा श्रीलङ्का नवौँ स्थानमा छ भने नेपाल १४औँ स्थानमा रहेको छ ।
नागोयामा शनिबारदेखि लगातार वर्षा भइरहेको छ । यही कारण समूह चरणमा नेपाल र जापानबीचको खेलसमेत प्रभावित भएको थियो । खेल हुन नसकेपछि अफगानिस्तान पनि भारतसँग प्रतिस्पर्धा नगरी प्रतियोगिताबाट बाहिरिएको थियो ।
नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । जापानसँगको अन्तिम खेल वर्षाका कारण प्रभावित भएपछि दुवै टोलीले अंक बाँडेका थिए । त्यसपछि समूहमा शीर्ष स्थान हासिल गर्दै नेपाल क्वार्टरफाइनल पुगेको थियो ।
क्वार्टरफाइनलमा मैदान उत्रिएर आफ्नो क्षमता देखाउने अवसरसमेत नपाउँदै वर्षाका कारण बाहिरिएपछि नेपालको एसियाली खेलकुद यात्रा निराशाजनक रूपमा टुंगिएको छ ।