मधेसमा नयाँ सरकार गठनको बाटो खुल्यो, मुख्यमन्त्री यादवले दिए राजीनामा – Nepalboli

मधेसमा नयाँ सरकार गठनको बाटो खुल्यो, मुख्यमन्त्री यादवले दिए राजीनामा

   २०८३ कार्तिक २९, शनिबार  

जनकपुरधाम— मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । अल्पमतमा परिसकेको सरकारलाई निरन्तरता दिनुभन्दा राजनीतिक निकास र स्थिर सरकार निर्माण आवश्यक रहेको भन्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् ।

शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशसभाको अंकगणितीय जोडघटाउमा अल्झिएर सरकार सञ्चालन गर्नु उपयुक्त नहुने निष्कर्षसहित राजीनामा दिएको घोषणा गरे ।

उनले वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्दै प्रदेशमा स्थिर सरकार निर्माणका लागि आफूले मार्गप्रशस्त गरेको बताए ।

मुख्यमन्त्री यादवको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ । नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सत्ता समीकरणसम्बन्धी सहमति यसअघि नै बनिसकेको बताइएको छ ।

सत्ता साझेदार नेकपा एमालेले असोज ३० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । त्यसपछि कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीसमेत सरकारबाट बाहिरिएपछि सरकार थप संकटमा परेको थियो ।

१०२ सदस्यीय मधेस प्रदेशसभामा सरकारलाई विश्वासको मत कायम राख्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो । तर, सत्ता साझेदार दलहरूकै समर्थन गुमेपछि मुख्यमन्त्री यादवले विश्वासको मत परीक्षण गर्नुभन्दा राजीनामाको बाटो रोजेका हुन् ।

अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा बहुमत जुटाउन सक्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सरकार गठनका लागि आह्वान गर्नेछन् ।

यससँगै मधेस प्रदेशको राजनीतिमा नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको औपचारिक प्रक्रिया सुरु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै