मधेस सरकारको परीक्षा आजः ५४ मत जुटाउन मुख्यमन्त्री यादवलाई चुनौती
धनुषा— मधेस प्रदेश सरकारको भविष्य आज प्रदेशसभामा हुने विश्वासको मतले निर्धारण गर्ने भएको छ । कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
१०७ सदस्यीय प्रदेशसभामा सरकार जोगाउन मुख्यमन्त्री यादवलाई कम्तीमा ५४ सांसदको समर्थन आवश्यक छ । तर, सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्रीका लागि थप ३२ सांसद जुटाउनु मुख्य चुनौती बनेको छ ।
विश्वासको मतका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक बोलाएका छन् । बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । त्यसपछि मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा छलफल र मतदान हुनेछ ।
सरकारका दुई प्रमुख सहयोगी दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् । एमालेका चार मन्त्रीले असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारबाट समर्थन फिर्ता लिएका थिए । त्यसपछि नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिएर समर्थन फिर्ता लिए ।
सहयोगी दलहरू बाहिरिएपछि अल्पमतमा परेको सरकारले विश्वासको मतमार्फत आफ्नो राजनीतिक अस्तित्व जोगाउने प्रयास गरिरहेको छ । मुख्यमन्त्री यादवले मतदानअघि विभिन्न दलका नेताहरूसँग छलफल गर्दै बहुमत जुटाउने प्रयास जारी राखेका छन् ।
प्रदेशसभाको अंकगणित हेर्दा कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
कांग्रेसबाहेक कुनै दलसँग तत्काल सरकार जोगाउने वा ढाल्ने गरी एक्लै पर्याप्त संख्या छैन । त्यसैले आजको मतदानमा जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी, जनमत पार्टी तथा अन्य साना दलका सांसदहरूको भूमिका निर्णायक बन्ने देखिएको छ ।
मुख्यमन्त्री यादवले बुधबार नै विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा औपचारिक पत्र पठाइसकेका छन् । अब सरकारको पक्षमा ५४ मत पुग्छ कि पुग्दैन भन्ने विषयले मधेस प्रदेशको आगामी राजनीतिक समीकरणसमेत तय गर्नेछ ।
विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा पर्नेछ भने सफल भए सरकारलाई निरन्तरता दिने बाटो खुल्नेछ । त्यसैले आजको प्रदेशसभा बैठकलाई मधेसमा वर्तमान सत्ता गठबन्धनको राजनीतिक परीक्षणका रूपमा हेरिएको छ।