छठको खरना आजः ४८ घण्टे कठिन व्रतको तयारीमा व्रतालु – Nepalboli

छठको खरना आजः ४८ घण्टे कठिन व्रतको तयारीमा व्रतालु

   २०८३ कार्तिक २९, शनिबार  

काठमाडौं— सूर्योपासनाको महापर्व छठअन्तर्गत आज दोस्रो दिन ‘खरना’ विधि मनाइँदैछ । दिनभर निराहार बसेका व्रतालुले साँझ चामल, दूध र सक्खरबाट तयार पारिएको खीर प्रसाद ग्रहण गरेपछि छठको मुख्य कठोर व्रतमा प्रवेश गर्नेछन् ।

खरना छठ पर्वको महत्वपूर्ण चरण मानिन्छ । यस दिन व्रतालुले बिहानदेखि पानीसमेत नखाई उपवास बस्छन् । साँझ पूजास्थलमा विधिपूर्वक खीर पकाएर सूर्यदेवको आराधना गरेपछि प्रसाद ग्रहण गर्ने चलन छ । खरनाको प्रसाद परिवारजन, आफन्त तथा छठ नमनाउने छिमेकी र शुभेच्छुकलाई समेत बाँड्ने परम्परा रहेको छ ।

चार दिनसम्म चल्ने छठ पर्व शुक्रबार ‘नहाय–खाय’बाट सुरु भएको हो । पहिलो दिन व्रतालुले स्नान गरी शुद्ध तथा सात्त्विक भोजन ग्रहण गरेका थिए । आज खरनापछि व्रतालु मुख्य पूजाका लागि थप कठोर उपवासको तयारीमा जुट्नेछन् ।

छठको तेस्रो दिन आइतबार मुख्य पूजा हुनेछ । व्रतालुहरू बाँसका ढाकी, डग्री तथा अन्य पूजासामग्रीमा प्रसाद सजाएर नदी, पोखरी र जलाशयका घाटमा पुग्नेछन् । साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिने यो विधिलाई ‘सौझकारक’ भनिन्छ ।

छठको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ । उदाउँदो सूर्यलाई अर्घ्य दिने विधि ‘पारन’पछि व्रतालुले व्रत तोड्नेछन् । छठमा मुख्य अर्घ्यदेखि पारनसम्म करिब ४८ घण्टा पानीसमेत नखाई उपवास बस्ने कठोर परम्परा छ ।

छठ पूजामा ठकुवा, भुसुवा, केरा, उखु, बेसार, अदुवा, विभिन्न फलफूल तथा मिठाईसहितका प्रसाद चढाइन्छ । बाँसका ढाकी र डग्री तथा माटोका कोसिया, कुरबारलगायत सामग्रीको प्रयोगले पर्वको मौलिकता झल्काउँछ ।

सन्तान प्राप्ति, पारिवारिक सुख–शान्ति, समृद्धि तथा मनोकामना पूरा हुने विश्वासका साथ मनाइने छठमा शुद्धता, संयम र निष्ठालाई विशेष महत्त्व दिइन्छ । यही कारण छठलाई धार्मिक आस्थासँगै कठोर अनुशासन र सामाजिक सद्भावको पर्वका रूपमा समेत लिइन्छ ।

छठ पर्वको अन्तिम दिन सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै