एनपिएलको तेस्रो संस्करणअघि कीर्तिपुर मैदानमा धमाधम पूर्वाधार थपिँदै – Nepalboli

एनपिएलको तेस्रो संस्करणअघि कीर्तिपुर मैदानमा धमाधम पूर्वाधार थपिँदै

   २०८३ आश्विन २१, बुधबार  

काठमाडौं— नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु हुन करिब तीन साता बाँकी रहँदा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता नजिकिँदै गएसँगै मैदानमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनको काम तीव्र पारिएको हो । यसपटक विगतका संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई सहज हुने गरी संरचना तयार गरिँदैछ ।

खड्काका अनुसार दसैँसम्म मैदानसम्बन्धी सबै काम सम्पन्न गरी प्रतियोगिताका लागि पूर्ण रूपमा तयार पार्ने लक्ष्य राखिएको छ । प्रतियोगिता हरेक संस्करणमा विस्तार हुँदै गएकाले त्यसअनुसार क्यानको जिम्मेवारीसमेत बढेको उनले बताए ।

एनपिएलमा दर्शकको चाप उच्च हुने भएकाले यसपटक मैदान परिसरमा उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने तयारी गरिएको छ । थप दर्शक अटाउन सकिने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तनको काम भइरहेको क्यानले जनाएको छ ।

त्यस्तै, मैदान प्रवेश गर्ने बाटो र गेट व्यवस्थापनमा समेत सुधारको पहल भइरहेको छ । सम्बन्धित मन्त्रालयसँग समन्वय गरी टिकट लिएर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल हेरेर फर्किंदासम्म सहज वातावरण बनाउने गरी व्यवस्थापन मिलाइँदैछ ।

गत संस्करणमा दर्शकले शौचालयको अभाव तथा आवतजावतका क्रममा धुलोलगायतका समस्या भोगेका थिए । यसपटक ती समस्या दोहोरिन नदिन आवश्यक तयारी भइरहेको सचिव खड्काले बताए ।

दसैँ–तिहारबीच एनपिएल, दर्शक घट्नेमा क्यान ढुक्क

दसैँ र तिहारको बीचमा एनपिएल आयोजना हुन लागेकाले दर्शक उपस्थिति प्रभावित हुन सक्ने सम्भावना रहे पनि क्यानले नेपाली क्रिकेटको बलियो ‘फ्यान बेस’ का कारण त्यसको ठूलो असर नपर्ने अपेक्षा गरेको छ ।

सचिव खड्काका अनुसार प्रतियोगिताको मिति तय गर्दा अन्तर्राष्ट्रिय क्रिकेटको तालिका, अन्य फ्रेन्चाइज लिग र विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको हो । ती सबै पक्षलाई हेर्दा यस वर्ष दसैँ–तिहारबीच एनपिएल आयोजना गर्नु उपयुक्त देखिएको उनले बताए ।

तेस्रो संस्करणका लागि सहभागी टोलीहरूले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी अनुबन्ध गर्ने क्रम पनि तीव्र पारेका छन् । विदेशी खेलाडीको उपस्थितिले प्रतियोगिताप्रति दर्शकको आकर्षण थप बढ्ने क्यानको अपेक्षा छ ।

टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई कीर्तिपुर मैदानमै प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म तान्ने विश्वास क्यानले गरेको छ ।

‘यसपालि ठूलाभन्दा ठूला खेलाडी हरेक टोलीले ल्याइरहेका छन् । टिभीमा हेरिरहेका खेलाडीलाई अब कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै प्रत्यक्ष देख्न सक्ने अवस्था बनेको छ,’ खड्काले भने ।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै