घोप्टेभीरको जोखिम हटाउन मुग्लिन–काठमाडौं सडक दैनिक चार घण्टा बन्द गर्ने तयारी
काठमाडौं— पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडक खण्डको घोप्टेभीरमा बढ्दो पहिरो जोखिम नियन्त्रणका लागि दैनिक चार घण्टा सडक बन्द गरेर भीर कटान गर्ने तयारी गरिएको छ ।
सडकको माथिल्लो भागबाट लगातार ढुङ्गा र माटो खस्न थालेपछि जोखिमयुक्त भीरको माथिल्लो हिस्सा नै काटेर सडकलाई सुरक्षित बनाउने योजना अघि सारिएको हो । सवारी आवागमनकै बीच काम गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले निश्चित समय सडक पूर्ण रूपमा बन्द गरी काम गर्ने प्रस्ताव गरिएको छ।
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)ले भीर कटान तथा पहिरो रोकथामको काम अघि बढाउन दैनिक चार घण्टा सवारी सञ्चालन रोक्ने योजना बनाएको हो ।
आयोजनाका इन्जिनियर अशोक देवकोटाका अनुसार सडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेकै अवस्थामा घोप्टेभीरको जोखिम न्यूनीकरणका लागि भीर कटान अपरिहार्य देखिएको छ । सडकमा सवारीसाधन चलिरहँदा सुरक्षित ढंगले कटानको काम गर्न कठिन हुने भएकाले केही समय आवागमन रोकेर काम गर्ने तयारी गरिएको उनले बताए ।
जोखिमयुक्त क्षेत्रको अवस्थाबारे प्रमुख जिल्ला अधिकारीसहितको टोलीले स्थलगत निरीक्षणसमेत गरिसकेको छ । आयोजनाले सडक बन्द गरेर काम गर्ने प्रस्ताव जिल्ला प्रशासनसमक्ष राखेको छ ।
यद्यपि, दैनिक कति समय र कुन समय सडक बन्द गर्ने भन्ने विषयमा प्रशासनबाट औपचारिक निर्णय भने भइसकेको छैन । निर्णय भएपछि सडक बन्दको समय तथा वैकल्पिक व्यवस्थाबारे जानकारी सार्वजनिक गरिनेछ ।