रुबीभ्यालीमा बोलेरो ४०० मिटर तल खस्यो, एक महिलाको मृत्यु – Nepalboli

रुबीभ्यालीमा बोलेरो ४०० मिटर तल खस्यो, एक महिलाको मृत्यु

   २०८३ मंसिर ५, शुक्रबार  

धादिङ— धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

शुक्रबार बिहान लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो उकालो सडकमा अनियन्त्रित भएर करिब ४०० मिटर तल खसेको सशस्त्र प्रहरीले जनाएको छ।

दुर्घटनामा बोलेरोमा सवार रुबीभ्याली–४ की अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सोही वडाका ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीया मिजोङ तामाङ, २० वर्षीय विमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ घाइते भएका छन् ।

यस्तै, बोलेरो चालक खनियाबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ का २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन् ।

घाइतेमध्ये आमोष तामाङ, मिजोङ तामाङ र चालक डम्बर तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था मध्यम रहेको छ ।

दुर्घटनास्थलमा मृतकको शव र दुर्घटनामा परेको बोलेरो रहेको तथा उद्धार र घटनाबारे थप विवरण संकलन भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै