स्थानीय तह निर्वाचनको तयारीमा आयोग सक्रिय, राष्ट्रिय दलसँग आज परामर्श
काठमाडौं— स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन केही महिना बाँकी रहँदा निर्वाचन आयोगले आगामी निर्वाचनको तयारीलाई तीव्रता दिएको छ । निर्वाचनको मिति, व्यवस्थापन तथा आवश्यक पूर्वतयारीबारे आयोगले राजनीतिक दलहरूसँग औपचारिक परामर्श सुरु गर्न लागेको हो।
आयोगले आज बिहान ११ः३० बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त ६ राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्दैछ । निर्वाचनसम्बन्धी तयारीका क्रममा दलहरूको सुझाव लिन आयोगले बैठक आयोजना गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थानीय तथा प्रदेश तहको निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा दलहरूसँग आवश्यक छलफल गरिनेछ । निर्वाचनको मिति निर्धारण, सञ्चालन तथा व्यवस्थापनलगायत विषयमा राजनीतिक दलहरूको धारणा बुझिने आयोगको तयारी छ ।
आयोगले छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिलाई बोलाएको छ ।
स्थानीय तहका वर्तमान जनप्रतिनिधिहरूको कार्यकाल आगामी वैशाखमा समाप्त हुँदैछ । कार्यकाल सकिनुअघि नै नयाँ जनप्रतिनिधि चयनका लागि निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले आयोगले अहिलेबाटै आवश्यक तयारी अघि बढाएको हो ।
राष्ट्रिय दलहरूसँगको छलफलपछि आयोगले आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने योजना बनाएको छ । दलहरूबाट प्राप्त सुझावका आधारमा निर्वाचनको मिति, सञ्चालन प्रक्रिया, व्यवस्थापन तथा आवश्यक पूर्वतयारीलाई थप व्यवस्थित बनाउने आयोगको तयारी छ ।
यससँगै स्थानीय तह निर्वाचनको वातावरण निर्माण र निर्वाचन व्यवस्थापनसम्बन्धी कामलाई आयोगले चरणबद्ध रूपमा अघि बढाउने संकेत गरेको छ।