दैलेखमा बञ्चरो प्रहारबाट श्रीमतीको पनि मृत्यु, मृतकको संख्या तीन पुग्यो
सुर्खेत– दैलेखमा घरायसी विवादका क्रममा श्रीमानले बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । यससँगै घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा शनिबार बिहान करिब ९ः३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले आफ्नै श्रीमती र तीन सन्तानमाथि दाउरा काट्ने बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीलाई नगर अस्पताल दुल्लु लगिएको थियो । चिकित्सकले बिहान ११ः१० बजे दुवैलाई मृत घोषणा गरेका थिए ।
घटनामा गम्भीर घाइते भएकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगरलाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत ल्याइएको थियो । अस्पतालमा दिउँसो २ बजे पुगेकी उनलाई चिकित्सकले २ः१० बजे मृत घोषणा गरेका हुन् ।
घटनामा घाइते भएका ६ वर्षीय छोरा मिलन सलामीको भने प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
घटनापछि प्रहरीले अम्बर सलामी मगरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा प्रयोग भएको बञ्चरोसमेत बरामद गरेको छ ।
घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।