लुम्बिनीलाई इतिहास दोहोर्याउने चुनौती, सुदूरपश्चिमलाई बदला लिने अवसर
काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्णायक भिडन्त हुँदैछ ।
यो फाइनल केवल उपाधिको भिडन्तमा सीमित छैन । गत संस्करणको फाइनलमा पनि आमनेसामने भएका यी दुई टोली यसपटक फेरि उपाधिका लागि भिड्दैछन् । अघिल्लो फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी च्याम्पियन बनेको थियो । त्यसैले लुम्बिनीका लागि उपाधि रक्षा गर्ने अवसर हुँदा सुदूरपश्चिमसँग भने पुरानो हारको बदला लिने मौका छ ।
यस सिजनको तथ्यांकले भने लुम्बिनीलाई बलियो दाबेदारका रूपमा उभ्याएको छ । लिग चरणदेखि पहिलो क्वालिफायरसम्म सुदूरपश्चिमविरुद्ध भएका दुवै खेलमा लुम्बिनी विजयी भएको छ । पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा पनि उसैलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
एनपीएलमा यी दुई टोलीबीच अहिलेसम्म पाँच खेल भएका छन् । लुम्बिनीले तीन तथा सुदूरपश्चिमले दुई खेल जितेका छन् । पछिल्ला तीन भेटमा लुम्बिनी लगातार विजयी छ ।
तर, फाइनलमा विगतको तथ्यांकले मात्रै नतिजा निर्धारण नगर्ने दुवै टोलीका कप्तानको बुझाइ छ ।
लुम्बिनीका कप्तान रोहित पौडेलले टोली फाइनलका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । पछिल्ला दुई दिन आराम र अभ्यासमा बिताएको बताउँदै उनले आवश्यक पक्षमा सुधार गरिएको जानकारी दिए ।
‘हामीमा अहिले जुनसुकै अवस्थाबाट पनि जित्न सक्छौं भन्ने आत्मविश्वास आएको छ । राम्रो क्रिकेट खेल्नुपर्छ । आफ्नो उत्कृष्ट खेल खेल्न सक्यौं भने जित्न सक्छौं,’ रोहितले भने ।
रोहितसँग एनपीएलमा लगातार दोस्रोपटक उपाधि जित्ने पहिलो कप्तान बन्ने अवसरसमेत छ । लुम्बिनीले प्रतियोगितामा सुरुदेखि नै स्थिर प्रदर्शन गर्दै आएको छ । सुदूरपश्चिमलाई हराएर प्रतियोगिताको सुरुवात गरेको टोलीले वर्षाका कारण चितवनविरुद्धको खेल खेल्न पाएन । त्यसपछि पोखरा र जनकपुरलाई हराएको लुम्बिनी काठमाडौंसँग पराजित भएको थियो ।
तर, कर्णाली र विराटनगरविरुद्ध जित निकाल्दै लिग चरणको शीर्ष स्थानमा पुगेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै हराएर सोझै फाइनलको टिकट काट्यो ।
यता सुदूरपश्चिमको फाइनल यात्रा भने तुलनात्मक रूपमा चुनौतीपूर्ण रह्यो । लिगको सुरुवाती खेलमै लुम्बिनीसँग पराजित भएको टोलीले त्यसपछि पोखरालाई हरायो । विराटनगरसँग हारे पनि चितवन, कर्णाली, जनकपुर र काठमाडौंलाई लगातार पराजित गर्दै दोस्रो स्थान हासिल गर्यो ।
पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको सुदूरपश्चिमले चितवनलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
कप्तान दीपेन्द्रसिंह ऐरीले पछिल्ला खेललाई नै फाइनलको तयारीका रूपमा लिएको बताएका छन् । ‘भोलिका लागि रेडी छौं, पछिल्ला खेलहरू नै हाम्रो लागि तयारीजस्तै हो,’ उनले भने ।
दीपेन्द्रले लुम्बिनीको बलिङ बलियो रहेको स्वीकार गर्दै त्यसविरुद्ध कसरी खेल्ने भन्ने विषयमा टोलीभित्र छलफल भइसकेको बताए ।