माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेकाको रातभर उद्धारको प्रयास, सर्च क्यामेराबाट खोजी – Nepalboli

माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेकाको रातभर उद्धारको प्रयास, सर्च क्यामेराबाट खोजी

   २०८३ भाद्र १४, आईतवार  

काठमाडौं— माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि रातभर खोज तथा उद्धार अभियान सञ्चालन गरिएको छ ।

प्रतिकूल मौसम, अविरल वर्षा र रातको अँध्यारोका बीच पनि नेपाली सेनासहितको उद्धार टोली घटनास्थलमा खटिएर उद्धार प्रयास जारी राखेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

रातको समयमा उद्धार कार्यमा देखिएको चुनौतीलाई कम गर्न घटनास्थलमा उच्च क्षमताका फ्लडलाइट जडान गरिएको छ । सुरुङ आसपास थुप्रिएको पहिरो तथा माटो हटाउन जेसीबीसहितका भारी एक्स्क्याभेटर निरन्तर परिचालन गरिएको छ ।

उद्धार टोलीले अत्याधुनिक ‘सर्च क्यामेरा’ र विशेष मोनिटर प्रयोग गरी सुरुङभित्र तथा पुरिएका सम्भावित स्थानमा सूक्ष्म रूपमा खोजी गरिरहेको जनाइएको छ ।

पहिरो तथा माटो पन्छाउँदै सुरुङसम्म पुग्ने बाटो खुलाउने र फसेका व्यक्तिहरूको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ ।

प्रतिकूल मौसम र जोखिमपूर्ण भौगोलिक अवस्थाका बीच उद्धार टोलीले सम्भावित सबै उपाय प्रयोग गरेर खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै