बाढीपीडितको राहतका लागि कांग्रेसले पार्टीका सबै तहलाई आर्थिक सहयोग गर्न परिपत्र
काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाली कांग्रेसले पार्टीका विभिन्न तहबाट आर्थिक सहयोग जुटाउने अभियान थालेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले केन्द्रदेखि पालिका कार्यसमितिसम्मका पार्टी संरचनालाई राहतका लागि आर्थिक सहयोग गर्न परिपत्र गरेको हो ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले पार्टीको निर्णयअनुसार जारी गरेको परिपत्रमा नेपाल बैंक लिमिटेड, कुपण्डोल शाखामा रहेको ‘नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष’ मा रकम जम्मा गर्न आग्रह गरिएको छ ।
परिपत्रमा पार्टी संगठनमा आबद्ध नेता–कार्यकर्ताबाट सहयोग संकलन गर्न भनिएको छ । साथै पार्टी संगठनका साथीहरूबाहेक अन्य व्यक्तिसँग सहयोग माग्न वा उक्त बैंक खाता नम्बर उपलब्ध गराउन नपाइने स्पष्ट गरिएको छ ।
यसअघि बाढी आएको भदौ १० गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका तर्फबाट एकमुष्ट रूपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
भोटेकोशी बाढीबाट रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि कांग्रेसले आफ्ना पार्टी संरचनामार्फत राहतका लागि स्रोत जुटाउन थालेको हो ।