सुरुङमा फसेकाको उद्धारका लागि भारतीय टोली परिचालित
काठमाडौं— बाढीपछि सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय टोली घटनास्थलमा परिचालित भइसकेको छ ।
सरकारले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आवश्यक अन्तर्राष्ट्रिय प्राविधिक सहयोग जुटाउने प्रयास गरिरहेको मन्त्री खनालले जानकारी दिए ।
उनका अनुसार उद्धार गर्नुपर्ने क्षेत्रको भौगोलिक अवस्था अत्यन्त जटिल रहेकाले स्थलमार्गबाट उपलब्ध हुने प्राविधिक सहयोगलाई सरकारले प्राथमिकता दिएको छ । हेलिकप्टरमार्फत उद्धार तथा प्राविधिक सहयोग पुर्याउने प्रयास पनि भौगोलिक कठिनाइका कारण चुनौतीपूर्ण हुने उनले बताए ।
मन्त्री खनालले जटिल भूगोल र आकस्मिक बाढीले जमिनमा पारेको असरका कारण उद्धारमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताए ।
‘यो भूगोलका लागि नयाँ रहेका विदेशी उद्धार टोलीहरूको सुरक्षामा ध्यान दिनुपर्ने भएकाले स्थानीय भूगोल बुझेका सुरक्षाकर्मीको सल्लाह र स्थलगत जानकारीका आधारमा मात्र उद्धार कार्य सञ्चालन भइरहेको छ,’ उनले भने।
सरकारले विदेशी प्राविधिक टोलीको विशेषज्ञतालाई स्थानीय सुरक्षा संयन्त्रको स्थलगत अनुभवसँग समन्वय गरी खोज तथा उद्धार अभियान अघि बढाइरहेको जनाएको छ ।