नेपालमा बाढीपीडित उद्धारमा भारतको सक्रियता, ५७.५ टन राहत सामग्रीसहित सेना र विशेषज्ञ टोली परिचालन
काठमाडौं— भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीपछि भारत सरकारले नेपालमा उद्धार तथा राहतका लागि थप सहयोग परिचालन गरेको जनाएको छ । भारतले नेपालमा फसेका आफ्ना नागरिकको उद्धारसँगै नेपाली पक्षको खोज तथा उद्धार कार्यमा समेत सहयोग गर्ने गरी सैनिक तथा प्राविधिक टोली पठाएको हो ।
भारतको विदेश मन्त्रालयका अनुसार अगस्ट २६ मा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्रीसँग टेलिफोन संवाद गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका थिए । उनले नेपाललाई आवश्यक सबै मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको बताएका थिए । त्यसपछि अगस्ट २८ मा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका परराष्ट्रमन्त्रीसँग पनि कुराकानी गरेका थिए ।
भारतका अनुसार हालसम्म नेपालमा १०८ जना भारतीय नागरिकको उद्धार गरिएको छ भने यसअघि सम्पर्कविहीन रहेका करिब ५० जना भारतीय नागरिकसँग पुनः सम्पर्क स्थापित भएको छ ।
चीन सरकारका स्थानीय अधिकारीबाट प्राप्त विवरण उद्धृत गर्दै भारतले पछिल्लो दुई दिनमा ५९८ जना भारतीय नागरिक चीनबाट सुरक्षित रूपमा नेपाल प्रवेश गरेको जनाएको छ । चीनतर्फ अझै करिब ९०० जना भारतीय नागरिक सुरक्षित र सम्पर्कमा रहेको भारतको भनाइ छ ।
तर २७५ भन्दा बढी भारतीय नागरिक तथा भारतीय मूलका १२८ जना व्यक्ति अझै बेपत्ता वा सम्पर्कविहीन रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
चौबीसै घण्टा नियन्त्रण कक्ष सञ्चालन
बाढीबाट नेपाल र चीन दुवै क्षेत्रमा भारतीय नागरिक प्रभावित भएपछि उद्धार तथा राहत कार्यका लागि भारतले नेपाली र चिनियाँ अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयमा २४ घण्टा सञ्चालन हुने नियन्त्रण कक्ष स्थापना गरिएको छ । काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासले पनि प्रभावित भारतीय नागरिकका लागि चौबीसै घण्टा हेल्पलाइन सञ्चालन गरिरहेका छन् ।
भारतीय दूतावासहरूले उद्धार गरिएका नागरिकको सुरक्षा तथा स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गर्नुका साथै आवश्यक परे उनीहरूलाई भारत फर्काउन सहजीकरण गरिरहेको जनाएको छ । कैलाश मानसरोवर यात्राबाट नेपाल हुँदै फर्किरहेका भारतीय तीर्थयात्रीको आवागमनमा समेत निगरानी र सहजीकरण भइरहेको छ ।
तीन उडानबाट ५७.५ टन राहत सामग्री
भारतले नेपाललाई राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) परिचालन गरी खोज तथा उद्धारमा सहयोग गर्ने प्रस्तावसमेत गरेको छ ।
त्यससँगै भारतीय वायुसेनाका विमानमार्फत नेपालमा राहत सामग्री पठाइएको छ । अहिलेसम्म तीनवटा उडानबाट करिब ५७.५ टन राहत सामग्री नेपाल ल्याइएको भारतले जनाएको छ ।
अगस्ट २६ मै भारतीय वायुसेनाको सी–१३०जे हर्कुलस विमानले १० टन आपत्कालीन सामग्री नेपाल ल्याएको थियो । त्यसमा अस्थायी आश्रय, कम्बल, सरसफाइ सामग्री, सोलार बत्ती र औषधि थिए ।
अगस्ट २७ मा सी–१७ ग्लोबमास्टर विमानमार्फत थप ३७.५ टन राहत सामग्री ल्याइएको थियो । त्यसमा २८.५ टन टेन्ट, कम्बल, हाइजिन किट, सोलार बत्ती, पानी निकाल्ने पम्प, किचन सेट र जेनेरेटरसहित ८ टन औषधि तथा १ टन खाद्य सामग्री रहेको थियो ।
अगस्ट २८ मा अर्को सी–१३०जे विमानले भारतीय सेनाको पाँच सदस्यीय सुरुङ उद्धार पूर्वसर्वेक्षण टोली र छ सदस्यीय मेडिकल टोली नेपाल ल्याएको थियो । सोही उडानबाट पोर्टेबल जेनेरेटर, डिग्निटी किट, खाद्य सामग्री, पानी शुद्धीकरण ट्याब्लेट र औषधिसहित थप १० टन सामग्री ल्याइएको थियो ।
सुरुङ उद्धारका लागि विशेषज्ञ टोली
भारतले बाढीका कारण विभिन्न क्षेत्रमा सुरुङभित्र फसेकाको उद्धारमा सहयोग गर्न थप विशेषज्ञ टोली नेपाल पठाउने जनाएको छ ।
त्यस्तै, बेपत्ता तथा मृत्यु भएकाहरूको पहिचानका लागि ६ वटा फरेन्सिक टोलीमा १९ सदस्यीय टोली समेत नेपाल पठाइँदैछ । उक्त टोलीले डीएनए नमुनाको विश्लेषण गरी शव तथा मानव अवशेषको पहिचानमा सहयोग गर्नेछ ।
सडक तथा पुल पुनःस्थापनामा पनि सहयोग
भारतले बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण अवरुद्ध यातायात सञ्जाल पुनःस्थापित गर्न बेली ब्रिज लगायतका सामग्री र प्राविधिक टोली उपलब्ध गराउने जनाएको छ ।
भारतका अनुसार एउटा बेली ब्रिज यसअघि नै नेपालमा ल्याइसकिएको छ र आवश्यकता तथा प्रभावित क्षेत्रको अवस्थाअनुसार त्यसलाई तत्काल प्रयोगमा ल्याउन सकिनेछ ।
भारतले नेपालसँग आफ्नो सम्बन्ध सभ्यतागत तथा जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै विपद्को यस दुःखद् घडीमा नेपालसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ ।