रसुवा भोटेकोशी बाढीः मृतक ७३४, सम्पर्कविहीन २ हजार ४८५, ८ हजार १२६ जनाको उद्धार – Nepalboli

रसुवा भोटेकोशी बाढीः मृतक ७३४, सम्पर्कविहीन २ हजार ४८५, ८ हजार १२६ जनाको उद्धार

   २०८३ भाद्र १४, आईतवार  

काठमाडौं— रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा ७३४ जनाको मृत्यु भएको छ भने २ हजार ४८५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले २०८३ भदौ १४ गते साँझ ५ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार बाढीमा परी मृत्यु भएका ७३४ जनामध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ५२, तनहुँमा ३६ र चितवनमा २५९ जना रहेका छन् । यी तथ्यांकमा विभिन्न मानव अंगसमेत समावेश रहेको प्राधिकरणले जनाएको छ ।

सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २७, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना रहेका छन् । यस्तै, रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

यसैगरी जलविद्युत् आयोजनाबाट १३३ जना, मकवानपुरबाट ६५ जना, सम्पर्कविहीन विदेशी नागरिक ५८ जना, विदेशी पर्यटकसँग घुम्न गएका नेपाली १२७ जना र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै बाढी तथा त्यसबाट सिर्जित विपद्का घटनामा हालसम्म ८ हजार १२६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महत्वपूर्ण भूमिका रहेको छ ।

जलविद्युत् आयोजनाको सुरुङबाट भदौ १२ गते १११ जना र भदौ १३ गते ८८ जना गरी १९९ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ । हालसम्म २३७ जना विदेशी नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

बाढीमा परी घाइते भएका २४२ जनाको उपचार तथा डिस्चार्ज भएको विवरणमा उल्लेख छ । प्रभावित क्षेत्रमा सञ्चार सेटसहित मेडिकल टोलीसमेत परिचालन गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १९ हजार ५२५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्राधिकरणका अनुसार नेपाल प्रहरीका ७ हजार ९२३, नेपाली सेनाका ३ हजार ३९९ र सशस्त्र प्रहरी बल नेपालका ८ हजार २०३ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।

बाढी प्रभावित क्षेत्रका लागि सरकारले नगद राहतसमेत उपलब्ध गराएको छ । विवरणअनुसार रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ, धादिङलाई ४० लाख रुपैयाँ तथा १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य राहत सामग्री पठाइएको छ । यस्तै, हेलिकोप्टरबाट ८ वटा उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ ।

भदौ १३ गते २ टन खाद्य सामग्री उतारेर ढुंगेतर्फ पठाइएको तथा हेलिकोप्टरबाट उद्धार सामग्रीसमेत प्रभावित क्षेत्रमा पुर्‍याइएको छ ।

नुवाकोटका विभिन्न पेट्रोलियम स्टोरमा ३६ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, हवाई इन्धनतर्फ १४ हजार लिटर मौज्दात रहेको तथा खपततर्फ २३ हजार लिटर रहेको जनाइएको छ ।

प्राधिकरणले पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको जनाएको छ । त्यस्ता शवको विस्तृत विवरण प्राधिकरणको फेसबुक पेज तथा नेपाल प्रहरीको विपद् पोर्टलमार्फत हेर्न सकिने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै