रसुवा बाढी अपडेटः मृतकको संख्या ६६९ पुग्यो, २ हजार ३०१ जनाको उद्धार
काठमाडौं — रसुवाको भोटेकोशीसहित बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी रहँदा फेला परेका शवको संख्या ६६९ पुगेको छ । नेपाल प्रहरीले शनिबार अपराह्न ४ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै २४८ वटा छन् । त्यस्तै नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ वटा शव फेला परेका छन् ।
४ हजार ८५४ प्रहरी परिचालन
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि ४ हजार ८५४ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट तीन जना रहेका छन् ।
१४० जना अस्पतालमा उपचाररत तथा डिस्चार्ज
प्रहरीका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा बाढी तथा विपद्बाट प्रभावित १४० जना घाइते उपचाररत वा उपचारपछि डिस्चार्ज भएका छन् ।
बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता तथा प्रभावित नागरिकको खोजी, उद्धार र राहत वितरणका लागि सुरक्षा निकायको टोली निरन्तर परिचालन भइरहेको प्रहरीले जनाएको छ ।