भारतबाट ११ टन मानवीय सहायता सामग्रीसहित चौथो खेप नेपाल आइपुग्यो – Nepalboli

भारतबाट ११ टन मानवीय सहायता सामग्रीसहित चौथो खेप नेपाल आइपुग्यो

   २०८३ भाद्र १४, आईतवार  

काठमाडौं— भारतबाट ११ टन मानवीय सहायता सामग्रीसहितको चौथो खेपको राहत सहायता नेपाल आइपुगेको छ । भारतीय वायुसेनाको C-130 विमानमार्फत ल्याइएको उक्त राहत सामग्रीमा उद्धार तथा राहत कार्यका लागि आवश्यक सामग्री र विशेषज्ञ टोलीहरू रहेका छन् ।

चौथो खेपमा सुरुङ खोज तथा उद्धारसम्बन्धी प्राविधिक टोली आवश्यक उपकरणसहित नेपाल आएको छ । त्यस्तै, डीएनए विश्लेषणका लागि फरेन्सिक विशेषज्ञहरूको टोली पनि आवश्यक फरेन्सिक उपकरणसहित आएको छ ।

राहत सामग्रीतर्फ कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइसम्बन्धी सामग्री रहेका छन् ।

यसैगरी, २३० फिट लामो एकल लेनको मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक पनि नेपाल आइपुगेका छन् ।

भारतले थप ७ वटा बेली ब्रिज जडानका लागि आवश्यक उपकरणहरू पनि छिट्टै नेपाल पठाउने जनाएको छ । ती पुल जडानका लागि आवश्यक प्राविधिक टोलीहरू समेत चाँडै नेपाल आइपुग्ने अपेक्षा गरिएको छ ।

भारतका अनुसार हालसम्म कुल ६८।५ टन राहत सामग्री हवाईमार्फत काठमाडौं ल्याइसकिएको छ । उक्त सामग्रीमा अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, खाद्य प्याकेट, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा प्राविधिक उपकरणहरू रहेका छन् ।

नेपालमा बाढी तथा विपद्पछिको उद्धार र राहत कार्यमा भारतको सहयोग निरन्तर जारी रहने भारतले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै