रसुवा बाढीः मृतकको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार – Nepalboli

रसुवा बाढीः मृतकको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार

   २०८३ भाद्र १३, शनिबार  

काठमाडौं— रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ । बाढी प्रभावित विभिन्न जिल्लाबाट खोज तथा उद्धार कार्य जारी रहँदा मृतकको संख्या बढ्दै गएको हो ।

नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै २३३ वटा रहेका छन्। त्यस्तै नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, गोरखामा ४८, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ वटा शव फेला परेका छन् ।

प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न स्थानबाट हालसम्म २ हजार ३०१ जनाको सकुशल उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये नुवाकोटबाट मात्रै १ हजार ६२२ जना रहेका छन् । रसुवाबाट ६७६ र धादिङबाट तीन जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै