भारत सरकारको अनुदानमा ललितपुरमा रहेको नापीचन्द्र महाविहारको पुनर्निर्माण, नवनिर्मित भवनको उद्घाटन
भारत सरकारको करिब ३ करोड ५० लाखको अनुदान लागतमा निर्मित ललितपुरस्थित नापीचन्द्र महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले सोमवार संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका छन।
समारोहमा ललितपुर विकास समाजका अध्यक्ष श्री बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाताका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका पदाधिकारीहरु उस्थित थिए।
नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो।
२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको नापीचन्द्र महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब ३.५ करोड अनुदान सहयोगमा निर्माण भएको हो।
शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले यो परियोजनाको कार्यान्वयन गरेको हो।
उद्घाटन समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूणर् पक्षको रुपमा रहेको उल्लेख गरे।
भारत सरकारले नेपालका सात जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ। यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा निजी आवास, आठ जिल्लाका ७१ वटा शैक्षिक संस्था, र दश जिल्लाका १३२ वटा स्वास्थ्य सुविधाको पुनर्निर्माणमा लागि सहयोग गरेको छ ।