दसैँअघि ‘तीन दिन भीषण वर्षा’को हल्ला, मौसम विभागले भन्यो– भ्रममा नपर्नुहोस् – Nepalboli

दसैँअघि ‘तीन दिन भीषण वर्षा’को हल्ला, मौसम विभागले भन्यो– भ्रममा नपर्नुहोस्

   २०८३ आश्विन १३, मंगलवार  

काठमाडौं— दसैँ नजिकिँदै गर्दा असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचनाले सर्वसाधारणमा त्रास बढाएको छ । तर, जल तथा मौसम विज्ञान विभागले यस्तो दाबीमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।

मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै असोज १७ गतेदेखि भीषण वर्षा हुनेसम्बन्धी प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। महाशाखाका अनुसार विभागले उक्त अवधिमा देशभर ठूलो वर्षा हुने कुनै पूर्वानुमान गरेको छैन ।

हालको मौसमी गतिविधिमा ठूलो परिवर्तनको संकेत नदेखिएको भन्दै महाशाखाले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, आधिकारिक मौसम सूचना र पूर्वानुमानलाई मात्र आधार बनाउन विभागले अनुरोध गरेको छ ।

मौसममा भने सामान्य परिवर्तन आउने

भीषण वर्षाको सम्भावना नरहेको विभागले स्पष्ट पारे पनि आगामी दिनमा मौसममा सामान्य परिवर्तन देखिन सक्ने मौसम विज्ञ विनोद पोखरेलले बताएका छन् ।

पोखरेलका अनुसार पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि घाम कम लाग्ने र विशेषगरी पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा झरी पर्ने सम्भावना छ ।

उनका अनुसार आइतबारदेखि दसैँको घटस्थापनासम्म मौसम केही बढी प्रभावित हुन सक्नेछ । यस अवधिमा आकाशमा बदली हुने, कतिपय स्थानमा झरी पर्ने र तापक्रम घट्दा चिसो महसुस बढ्ने सम्भावना रहेको उनको भनाइ छ ।

माथिल्लो वायुमण्डलमा विकसित हुने न्यून चापीय प्रणालीको प्रभावले नेपालमा सामान्य वर्षा गराउन सक्ने र औसतभन्दा केही बढी चिसो महसुस हुन सक्ने पोखरेलले बताएका छन् ।

भर्खरै लामो समयको वर्षा र बाढी–पहिरोको सामना गरेका नागरिकमा पुनः ठूलो वर्षाको हल्लाले त्रास बढाएको भन्दै उनले अपुष्ट सूचना फैलाउँदा अनावश्यक मनोवैज्ञानिक असर पर्न सक्ने बताएका छन् ।

यसकारण दसैँको मुखमा भारी वर्षाको हल्लाभन्दा आधिकारिक मौसम पूर्वानुमानलाई आधार मान्न विज्ञहरूको सुझाव छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै