सिद्धार्थ राजमार्ग भासिएपछि ठूला सवारी रोकिए, यात्रु अलपत्र – Nepalboli

सिद्धार्थ राजमार्ग भासिएपछि ठूला सवारी रोकिए, यात्रु अलपत्र

   २०८३ आश्विन १३, मंगलवार  

पाल्पा— सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको आर्यभन्ज्याङ–राम्दी सडकखण्ड भासिएपछि ठूला सवारीसाधनको आवागमन रोकिएको छ । सडक भासिएसँगै पोखरा, बुटवल र भैरहवातर्फबाट आएका ठूला सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने लामो दूरीका यात्रु समस्यामा परेका छन् ।

माथागढी गाउँपालिका–१ चिदीपानीस्थित धैरनीमा मंगलबार बिहान करिब ८ बजे राजमार्ग भासिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख राजेन्द्र खड्काले जानकारी दिए ।

सडकको अवस्था जोखिमपूर्ण रहेकाले हाल एकतर्फी रूपमा हलुका सवारीसाधन सञ्चालन भइरहेको छ । सडकमा थप क्षति पुगेर दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै ठूला सवारीसाधनलाई भने आवागमनमा रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

सडकको अवस्था निरीक्षण तथा तत्काल मर्मतको तयारीका लागि सडक डिभिजन कार्यालयबाट इन्जिनियरसहितको टोली घटनास्थल पुगेको छ । राजमार्गमाथिको भाग कटान गरेर सडकलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको खड्काले बताए ।

सडक भासिएपछि लामो दूरीमा यात्रा गरिरहेका यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन् । सडक कहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउने भन्ने विषय प्राविधिक टोलीको निरीक्षणपछि टुंगो लाग्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै