प्रतिनिधिसभामा आज विधेयकको चाप, प्रतिरक्षा विश्वविद्यालयदेखि स्वास्थ्य प्रतिष्ठानसम्म छलफल
काठमाडौँ—सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विभिन्न नयाँ विधेयक पेस तथा छलफलका लागि अघि बढाइने सम्भावित कार्यसूची रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’पेस गर्ने तयारी छ । उक्त विधेयकले राष्ट्रिय प्रतिरक्षा शिक्षासँग सम्बन्धित विश्वविद्यालय स्थापनाको कानुनी आधार तय गर्नेछ ।
त्यसैगरी मन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन् ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन् ।
यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यसरी आजको बैठकमा प्रतिरक्षा शिक्षा, विधि विज्ञान, प्राविधिक शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्थालाई अघि बढाउने विषय केन्द्रमा रहने देखिएको छ।