कांग्रेस महाधिवेशन दुई दिन सर्यो, असोज १८ गते उद्घाटन
काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ । यसअघि असोज १५ गते गर्ने भनिएको महाधिवेशन उद्घाटन दुई दिन पछि सारिएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार असोज १५ गतेभित्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाइसक्नुपर्नेछ ।
त्यसपछि असोज १६ र १७ गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता गरिनेछ । महाधिवेशनको औपचारिक उद्घाटन भने असोज १८ गते दिउँसो २ बजे हुनेछ ।
महाधिवेशनअन्तर्गत असोज १९ र २० गते बन्दसत्रलगायतका कार्यक्रम सञ्चालन हुनेछन् । त्यस्तै, असोज २१ र २२ गते निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ ।
संशोधित तालिकासँगै कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया पनि नयाँ मितिअनुसार अघि बढ्ने भएको छ ।