विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु, ठाउँ–ठाउँमा सडक अवरुद्ध – Nepalboli

विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु, ठाउँ–ठाउँमा सडक अवरुद्ध

   २०८३ आश्विन ११, आईतवार  

वर्षाको कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी बागमती प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जना र मधेस प्रदेशमा १ जना गरी जम्मा १५ जनाको मृत्यु भएको हो ।

विपद्‍मा परी ४ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै १ हजार २ सय ८४ जनाको उद्दार गरिएको छ ।

प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको जानकारी दिएको छ ।

ठाउँ–ठाउँमा सडक अवरुद्ध

बागमती प्रदेशका प्रमुख सडक बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर, परेवाभिर र टिडरासखानीमा पहिरो खस्नुका साथै चितवनको धारापानीमा सडक भासिएर यातायात ठप्प भएको छ । यसैगरी कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती र गोदावरी क्षेत्रमा पहिरो तथा रुख ढलेका कारण र मकवानपुरको खहरे खोल्सामा लेदो आई सडक अवरुद्ध भएको छ ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको घुमाउने, कालढुङ्गा र पिन्थलीवेशीमा सडक कटान तथा पहिरोका कारण यातायात ठप्प छ । सिन्धुलीको बालुवामा बाढीले बाटो अवरुद्ध बनाएको छ। रसुवागढी, त्रिशुली–मैलुङ र काठमाडौँ जोड्ने सडक खण्डमा पनि बाढीका कारण सवारीसाधन सञ्चालन हुन सकेको छैन।

गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, तनहुँ, लमजुङ र बाग्लुङ क्षेत्रका सडक पहिरोका कारण पूर्ण रूपमा प्रभावित भएको छ । मन्थली–खुर्कोट, चामे–बेशीशहर, जोमसोम–कोरला तथा बेनी–जोमसोम खण्डमा पहिरोले बाटो बन्द छ । डुम्रे–बेशीशहर र बेशीशहर–मनाङ खण्डका विभिन्न ठाउँमा पहिरो जानुका साथै रामबजारमा सडक भासिएर सडक अवरुद्ध भएको छ ।

मध्यपहाडी राजमार्गअन्तर्गत निसिखोला, बडिगाड र ढोरपाटन क्षेत्रमा पहिरो खसेर सवारी आवागमन रोकिएको छ । पर्वतको तमादी खोलामा भने पहिरो सफा गरी सडक एकतर्फी सुचारु गरिएको छ।

लुम्बिनी प्रदेशको गुल्मीस्थित कालिगण्डकी करिडोरअन्तर्गत राक्से, सिस्नेभिर र तल्लोखादमा पहिरो खसेर बाटो अवरुद्ध छ । कर्णाली प्रदेशमा कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका र तिलागुफा (तिर्खगाडा खोला) मा पहिरो गएका कारण सवारी साधन ठप्प छ।

राप्ती राजमार्गको सल्यान खारखोला खण्ड र भेरी करिडोरको डोल्पा अन्बेदुला खण्डमा पहिरो जाँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। प्राधिकरणलेले अवरुद्ध राजमार्गमा पहिरो पन्छाउने र सडक सुचारु गर्ने कार्य निरन्तर भइरहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै