ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आजबाट प्रतिवादीको थुनछेक बहस हुने
ललितानिवास जग्गा हिनामिना प्रकरणमा आजदेखि प्रतिवादीका तर्फबाट थुनछेक बहस सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा हिजोबाट सुरु भएको थुनछेक बहसमा अभियोजनकर्ता सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए ।
जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेको जानकारी दिए । जिल्ला न्यायाधिवक्ता महेश खत्री र रमेश भट्टराई तथा सहायक जिल्ला न्यायाधिवक्ताहरु चन्द्र संजेल र दिनेश भट्टराईले अभियुक्तहरुलाई कानुनी कारबाही गर्नुपर्ने पक्षमा बहस गरेका ज्ञवालीले जानकारी दिए ।
सोमबार बढीमा ४ सरकारी वकिलले बहस गरेपछि चिया ब्रेकपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ । प्रतिवादीका तर्फबाट व्यक्तिव्यक्तिका वकिलहरुले बहस गर्नेछन् । उनीहरुको बहस सकिएपछि जाहेरवालाका तर्फबाट बहस हुनेछ र अन्तिममा सरकारी वकिलका तर्फबाट नै जवाफी बहस हुनेछ ।
त्यसपछि मात्र जिल्ला अदालतले पक्राउ परेकाहरुलाई थुनामै राखेर अनुसन्धान गर्ने वा धरौटीमा रिहा गर्ने वा अन्य आदेश गर्नेछ । थुनछेक आदेश भएपछि बल्ल मुद्दाको अन्तिम फैसलाका लागि बहस सुरु हुनेछ ।
अघिल्लो आइतबार सरकारी वकिलले सरकारी छाप दुरुपयोगमार्फत किर्ते गरेको भन्दै ३१० जना विरुद्ध मुद्दा दायर गरेका थियो । पक्राउ परेकाहरुको सोमबार, मंगलबार, बुधबार र शुक्रबार बयान भएको थियो ।
ललितानिवास जग्गा प्रकरणमा २८९ जनालाई मुख्य प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ भने त्यसबाहेक जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भइसकेका २१ जनालाई पनि प्रतिवादी बनाएको छ । जसमा ललितानिवासका तत्कालीन मालिक सुवर्णशमशेरका परिवारका सदस्यहरु पनि रहेका छन् । पक्राउ परेका १८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ ।