कांग्रेसले देशभर ‘एनसी फर एनसी’ अभियान चलाउने, सामाजिक कामलाई पार्टीसँग जोड्ने
काठमाडौँ— नेपाली कांग्रेसले देशभरका स्थानीय तहमा सामाजिक कामलाई पार्टीको पहिचानसँग जोड्दै ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियान सञ्चालन गर्ने भएको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले पार्टीलाई केवल राजनीतिक गतिविधिमा सीमित नराखी सामाजिक रूपान्तरणको अभियानसँग जोड्न यस्तो कार्यक्रम अघि सारिएको बताएका छन् ।
पार्टी स्थापनाकालमा बीपी कोइरालाले निश्चित समय सामाजिक काम गरेका व्यक्तिलाई मात्र कांग्रेसको सदस्यता दिने व्यवस्था गरेको स्मरण गर्दै थापाले त्यही कार्यशैलीलाई पुनर्जीवित गर्ने प्रयास सुरु गरिएको बताए ।
उनका अनुसार कांग्रेसका नेता तथा कार्यकर्ता देशभर विभिन्न सामाजिक गतिविधिमा संलग्न रहे पनि ती कामलाई पार्टीको संस्थागत पहिचानसँग जोड्न नसकिएको अवस्था छ । अब भने सामाजिक काम गर्दा ‘कांग्रेस’को पहिचानसहित गर्नुपर्ने उनले बताए ।
चार महिनामा हरेक पालिकामा कम्तीमा एक कार्यक्रम
अभियानअन्तर्गत आगामी पुस, माघ, फागुन र चैत गरी चार महिनाको अवधिमा देशभरका प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा ठोस सामाजिक कार्यक्रम सञ्चालन गरिनेछ ।
स्थानीय आवश्यकता र भौगोलिक अवस्थाका आधारमा परियोजना छनोट गर्न सकिनेछ । विद्यालयका कक्षाकोठा निर्माण, विपन्न नागरिकका लागि आवास, खानेपानी आयोजना, सांस्कृतिक सम्पदा संरक्षण, सीपमूलक तालिम, क्षमता विकास, कृषि प्रवर्द्धन, वातावरण संरक्षण तथा युवाका लागि रोजगारी सिर्जनालगायतका कार्यक्रम अभियानमा समेट्न सकिने कांग्रेसले जनाएको छ ।
स्थानीय तहमा छनोट भएका परियोजनाका लागि आवश्यक स्रोत–साधन केन्द्रीय कार्यालयले जुटाउने सभापति थापाले प्रतिबद्धता जनाएका छन् ।
‘तपाईँहरू आँट्नुहोस् मात्र, आवश्यक स्रोत–साधन हामी जुटाउँछौँ,’ थापाले नेता–कार्यकर्तालाई भनेका छन् ।
पुसभित्र परियोजनाको विवरण बुझाउनुपर्ने
स्थानीय तहमा सञ्चालन गरिने परियोजनाको विवरण पुसको अन्तिम सातासम्म केन्द्रीय कार्यसमितिलाई लिखित रूपमा बुझाउनुपर्नेछ ।
आवश्यकताअनुसार छनोट भएका परियोजना चार महिना, छ महिना वा एक वर्षसम्म निरन्तर सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
अभियानको अनुगमन र समन्वयका लागि कांग्रेसले केन्द्रमा छुट्टै ‘एनसी फर एनसी’ सचिवालय स्थापना गर्ने भएको छ । सचिवालयले देशभर सञ्चालन भएका कार्यक्रम तथा सम्पन्न कामको विवरण संकलन गरेर पार्टी सभापतिसमक्ष पेस गर्नेछ ।
कामकै आधारमा नेता–कार्यकर्ताको मूल्याङ्कन
चार महिनापछि अभियानको विस्तृत समीक्षा गरिने सभापति थापाले बताएका छन् ।
समीक्षाका क्रममा आफू जिम्मेवारीमा रहेको पालिकामा कुन परियोजना सञ्चालन भइरहेको छ भन्ने विवरण पेस गर्नुपर्नेछ । सामाजिक अभियानको परिणामलाई नेता–कार्यकर्ताको सांगठनिक मूल्याङ्कनसँग समेत जोडिने थापाले स्पष्ट पारेका छन् ।
यससँगै कांग्रेसले पार्टी संगठन विस्तारसँगै स्थानीय तहमा प्रत्यक्ष सामाजिक योगदानमार्फत आफ्नो उपस्थिति बलियो बनाउने रणनीति अघि सारेको देखिएको छ ।