पशुपतिमा बाला चतुर्दशीको तयारी तीव्र, सुरक्षा व्यवस्था कडा बनाइँदै – Nepalboli

पशुपतिमा बाला चतुर्दशीको तयारी तीव्र, सुरक्षा व्यवस्था कडा बनाइँदै

   २०८३ मंसिर १४, आईतवार  

काठमाडौँ— दिवङ्गत पितृको सम्झनामा दीप प्रज्वलन गर्दै शतबीज छर्ने बाला चतुर्दशी पर्वका लागि पशुपति क्षेत्रमा तयारी तथा सुरक्षा व्यवस्थापन अघि बढाइएको छ ।

यही मङ्सिर २१ गते सोमबार मनाइने पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन पशुपति क्षेत्र विकास कोषले सुरक्षा निकायका प्रतिनिधिसँग सुरक्षा व्यवस्थापनसम्बन्धी बैठक गरेको छ ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार पर्वका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनको सहज दर्शन, भीड व्यवस्थापन, शान्ति सुरक्षा तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल भएको छ ।

भक्तजनको चापलाई मध्यनजर गर्दै सम्बन्धित सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायबीच आवश्यक समन्वय अघि बढाइएको कोषले जनाएको छ ।

साँझदेखि नै पशुपतिमा भक्तजनको भीड

मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने तथा रातभर जाग्राम बस्ने परम्परा छ । त्यसपछि भोलिपल्ट अर्थात् मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरेर बाला चतुर्दशी पर्व मनाउने धार्मिक प्रचलन छ ।

मङ्सिर २० गते आइतबार साँझदेखि नै पशुपति क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने भक्तजनको ठूलो भीड लाग्ने अपेक्षा गरिएको छ ।

पशुपति क्षेत्रसँगै देशका विभिन्न स्थानमा रहेका शिवालयमा समेत त्रयोदशीको साँझ दीप प्रज्वलन गर्ने र चतुर्दशीको बिहान शतबीज छर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै