७५३ पालिकामा कांग्रेसको ‘हामी तयार छौँ अभियान’, आज प्रतिनिधिलाई अभिमुखीकरण
काठमाडौँ— नेपाली कांग्रेसले संगठनलाई स्थानीय तहसम्म थप सक्रिय बनाउँदै ‘हामी तयार छौँ अभियान’ देशभर सञ्चालन गर्ने तयारी गरेको छ । अभियानका लागि ७५३ वटै स्थानीय तहमा खटिने प्रतिनिधिलाई आज अभिमुखीकरण दिइँदैछ ।
कांग्रेसका अनुसार पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण कार्यक्रम आयोजना हुँदैछ ।
अभियानलाई देशव्यापी रूपमा प्रभावकारी बनाउन प्रतिनिधिहरूलाई उनीहरूको जिम्मेवारी, भूमिका, आवश्यक जानकारी र अभियानको कार्यदिशाबारे स्पष्ट पार्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको महामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् ।
काठमाडौँ उपत्यकामा उपलब्ध सबै प्रतिनिधिलाई सानेपास्थित केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन भनिएको छ । उपत्यकाबाहिर रहेका प्रतिनिधिका लागि भने जुममार्फत अभिमुखीकरणमा सहभागी हुने व्यवस्था गरिएको छ ।
कांग्रेसले ‘हामी तयार छौँ अभियान’मार्फत पार्टी संगठनलाई वडा र पालिका तहसम्म थप सुदृढ बनाउने तथा स्थानीयस्तरका जनताका मुद्दासँग प्रत्यक्ष जोडिने लक्ष्य लिएको जनाएको छ ।
अभियानअन्तर्गत ७५३ वटै पालिकामा प्रतिनिधि परिचालन गरी कांग्रेसको संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने तयारी गरिएको छ।