यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय
काठमाडौँ— नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर ८ गतेदेखि ११ गतेसम्म बसेको बैठकले सरकारको कार्यशैलीदेखि प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, बाढी प्रभावित क्षेत्र, भूमिहीनको समस्या, पार्टीको चुनाव चिह्नको अनधिकृत प्रयोगलगायत विषयमा विभिन्न निर्णय गरेको छ । बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालयमा बसेको थियो ।
बैठकले सरकारप्रति आफ्नो प्रतिपक्षीय भूमिका अब झनै सशक्त बनाउने निष्कर्ष निकालेको छ । कांग्रेसले सरकारका सकारात्मक काममा सहयोग गर्ने तर संविधान, विधिको शासन र लोकतन्त्रविपरीतका गतिविधिको सशक्त प्रतिरोध गर्ने जनाएको छ ।
१. सरकारविरुद्ध थप सशक्त खबरदारी
कांग्रेसले सरकारले संसद् र संसदीय समितिप्रति उपेक्षा गरेको तथा अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाउँदै संविधानको सीमा र संस्थागत मर्यादा पालना गर्न माग गरेको छ ।
प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश फिर्ता लिन तथा संसद्को अधिवेशन बोलाउन पनि कांग्रेसले माग गरेको छ ।
२. कानुनको निष्पक्ष प्रयोगमा जोड
सरकारले राजनीतिक आबद्धता र निकटताका आधारमा छानीछानी अनुसन्धान तथा कारबाही गरेको आशंका कांग्रेसले व्यक्त गरेको छ ।
सुनकोशी–मरिन आयोजना र प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग जोडिएको मोबाइल प्रकरणको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न तथा अनुसन्धानमा राजनीतिक हस्तक्षेप नगर्न कांग्रेसले माग गरेको छ ।
३. अर्थतन्त्र र जनजीविकालाई प्राथमिकता दिन माग
महँगी, कमजोर बजार, निजी क्षेत्रको घट्दो आत्मविश्वास, बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा, रोजगारी, सहकारी पीडित, किसान तथा श्रमिकका समस्या समाधान गर्न सरकारलाई कांग्रेसले दबाब दिएको छ ।
अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक गर्दै समयबद्ध कार्ययोजना ल्याउन, पुँजीगत खर्च बढाउन तथा महँगी नियन्त्रण गरी नागरिकलाई तत्काल राहत दिन माग गरिएको छ ।
४. सयदिने प्रतिबद्धताको हिसाब माग
सरकारले घोषणा गरेका सयदिने कार्यक्रम, विभिन्न समुदाय तथा आन्दोलनरत पक्षसँग भएका सम्झौता र गठन गरिएका अध्ययन तथा छानबिन समितिका प्रगति विवरण सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ ।
भदौ २३ र २४ का घटनासँग सम्बन्धित छानबिन, मानव अधिकार आयोगको प्रतिवेदन तथा गृहमन्त्रीमाथिको छानबिन प्रतिवेदनबारे पनि सरकारसँग स्पष्ट जवाफ मागिएको छ ।
५. बालेनको भारत भ्रमणबारे मिश्रित धारणा
कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका केही सहमति र सहयोगलाई सकारात्मक भने पनि सीमालगायत संवेदनशील विषयले अपेक्षित प्राथमिकता नपाएको जनाएको छ ।
भैरहवा हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति, भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको सहयोग तथा शिक्षा, स्टार्टअप, नवप्रवर्तन र जलवायु क्षेत्रमा सहकार्य विस्तारलाई कांग्रेसले स्वागत गरेको छ ।
तर भ्रमणका क्रममा सीमासम्बन्धी विषयलाई उच्च प्राथमिकता नदिएको भन्दै कांग्रेसले सरकारसँग प्रश्न गरेको छ । आगामी कूटनीतिक पहल र कार्ययोजनाबारे संसद् तथा जनतालाई स्पष्ट जानकारी दिन पनि माग गरिएको छ ।
६. बाढी प्रभावितलाई तत्काल राहत र पुनर्निर्माण
भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकीलगायत बाढी प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी पुनर्स्थापना र पुनर्निर्माणको योजना ल्याउन नसकेको कांग्रेसको निष्कर्ष छ ।
प्रभावित परिवारलाई सुरक्षित आश्रय तथा घरभाडा सहायता, पुनर्लाभ तथा पुनर्निर्माणको एकीकृत खाका, प्रभावित व्यवसायी तथा जलविद्युत् र पर्यटन क्षेत्रका लागि राहत, अनुदान र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न माग गरिएको छ ।
७. भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्न स्थायी कानुन
भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि अध्यादेशको बाटो गलत भएको कांग्रेसले जनाएको छ ।
विधायिकाबाट बनेको स्थायी कानुनमार्फत समस्या समाधान गर्नुपर्ने भन्दै कांग्रेसले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ अघि बढाउन माग गरेको छ । वास्तविक सुकुम्बासीलाई आवास तथा पुनर्स्थापना, सार्वजनिक जग्गा संरक्षण र अवैध रूपमा सार्वजनिक सम्पत्ति कब्जा गर्नेहरूमाथि कारबाही गर्नुपर्ने कांग्रेसको धारणा छ ।
८. ‘हामी तयार छौं’ अभियानको अवधारणापत्र स्वीकृत
बैठकले नेपाली कांग्रेसको ‘हामी तयार छौं’ अभियानको अवधारणापत्र स्वीकृत गरेको छ ।
९.पार्टीका सार्वजनिक कार्यक्रमका लागि नयाँ कार्यविधि
कांग्रेसले सार्वजनिक कार्यक्रमलाई अनुशासित, समयबद्ध, मर्यादित र व्यवस्थित बनाउन नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ परिमार्जनसहित पारित गरेको छ । कार्यविधि कडाइका साथ लागू गर्ने निर्णय भएको छ ।
१०. ‘रुख’ चुनाव चिह्नको अनधिकृत प्रयोग रोक्ने
कांग्रेसले पार्टीको नाम, लेटरप्याड, झण्डा, चारतारे झण्डा र ‘रुख’ चुनाव चिह्नको अनधिकृत प्रयोग रोक्ने निर्णय गरेको छ ।
यस्ता गतिविधि गर्ने वा सामाजिक सञ्जालमार्फत पार्टीको आधिकारिक गतिविधिका रूपमा प्रचार गर्ने व्यक्ति वा समूहविरुद्ध पार्टी विधान तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको छ । निर्वाचन आयोगलगायत सम्बन्धित निकायलाई पनि आवश्यक कदम चाल्न आग्रह गरिएको छ ।
११. तीन केन्द्रीय समिति गठनको अधिकार सभापतिलाई
केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन गर्ने अधिकार सभापति गगन थापालाई प्रत्यायोजन गर्ने निर्णय गरिएको छ ।
१२. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान गठन
बैठकले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानले लैङ्गिक समानता, अपाङ्गता, सामाजिक समावेशीकरण, हिंसा तथा विभेदका विषयमा अध्ययन–अनुसन्धान, नीति सुझाव, प्रशिक्षण तथा पार्टीभित्रका गुनासोको संवेदनशील सुनुवाइ र सुधारका लागि सिफारिस गर्नेछ ।
समग्रमा, कांग्रेसको पछिल्लो बैठकका निर्णयले सरकारप्रति ‘सहयोगसहितको रचनात्मक प्रतिपक्ष’ बाट ‘सशक्त निगरानी, खबरदारी र प्रतिरोध’तर्फ जाने संकेत गरेको छ । बैठकले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुका साथै पार्टी संगठन, चुनाव चिह्नको संरक्षण, सामाजिक समावेशीकरण र आगामी राजनीतिक अभियानलाई पनि प्राथमिकतामा राखेको देखिन्छ ।