अज्ञातस्थलमा दुई दिन राखेर बयानका लागि दबाब दिइएको इनम सापकोटाको दाबी
काठमाडौं– विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाले आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिएर विभिन्न व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाएका छन् । उनको जीवनरक्षाको माग गर्दै पत्नी कविता पाण्डेले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी छन् ।
आयोगमा बुझाइएको निवेदनमा सापकोटाले पक्राउपछि आफूलाई धाकधम्की, मानसिक यातना र गोपनीयताको हक हनन भएको दाबी गरेका छन् । घटनामा संलग्न व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न पनि उनले आयोगसँग माग गरेका छन् ।
सापकोटाका अनुसार गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तिम सुरक्षा जाँचका लागि पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यस क्रममा आफूसँग रहेका दुईवटा मोबाइल फोन खोसिएको र आँखामा पट्टी बाँधेर गाडीमा राखी अज्ञातस्थलमा लगिएको उनको दाबी छ ।
त्यहाँ आफूलाई दुई दिनसम्म राखेर सोधपुछ गरिएको र विभिन्न व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको सापकोटाले निवेदनमा उल्लेख गरेका छन् । उनका अनुसार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र हिमालय होटलका नवीन तुलाधरलगायतका व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको थियो ।
आफूले ती व्यक्तिहरूविरुद्ध बयान दिन अस्वीकार गरेपछि लामो समय जेलमा राख्ने, आफू तथा परिवारको ज्यान जोखिममा पार्ने र परिवारलाई समेत समस्यामा पार्ने धम्की दिइएको सापकोटाको आरोप छ ।
परिवारसँग सम्पर्क गराइदिन पटकपटक आग्रह गर्दा पनि अनुमति नदिइएको र बयान दिन नमानेपछि आफूलाई तर्साउने तथा मानसिक यातना दिने काम भएको उनले बताएका छन् ।
सापकोटाले आफूलाई एउटा कागजमा लेखिएको विवरण पढ्न लगाएर त्यसको अडिओ रेकर्ड गरिएको र पछि सार्वजनिक गरिएको दाबीसमेत गरेका छन् । आफूलाई जानकारी नभएका विषय समेटिएको उक्त कागजमा हस्ताक्षर गर्न लगाइएको उनको आरोप छ ।
पछि प्रहरीले उक्त अडिओमा सुनिएको आवाज आफ्नै हो वा होइन भनेर सोधपुछ गरेको र आवाज आफ्नै जस्तो सुनिए पनि त्यसमा भनिएका विषय आफूलाई सम्झना नभएको व्यहोरा उल्लेख गरेर बयान लिएको सापकोटाले बताएका छन् ।
हाल सोही अडिओलाई आधार बनाएर आफूलाई बयान दिन मानसिक दबाब तथा यातना दिइरहेको उनको दाबी छ । आफू र परिवारको जिउज्यान तथा स्वतन्त्रतामाथि खतरा उत्पन्न हुने गरी धम्की दिइएकाले लामो समयदेखि मानसिक तनावमा रहेको भन्दै उनले मानव अधिकार आयोगसँग आफ्नो तथा परिवारको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् ।