कांग्रेसको आधिकारिक चुनाव चिह्न र झण्डा दुरुपयोग रोक्न आयोग गुहार्ने निर्णय – Nepalboli

कांग्रेसको आधिकारिक चुनाव चिह्न र झण्डा दुरुपयोग रोक्न आयोग गुहार्ने निर्णय

   २०८३ मंसिर १२, शुक्रबार  

ललितपुर— नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनपछि निर्वाचन आयोगले पार्टीको विवरण अद्यावधिक गरिसकेको भन्दै आधिकारिक चुनाव चिह्न र झण्डाको प्रयोगमा भइरहेको दुरुपयोग रोक्न आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकले पार्टीको नाम, चुनाव चिह्न र झण्डाको अनधिकृत प्रयोग नगर्न सम्बन्धित अर्को पक्षलाई समेत सचेत गराउने निर्णय गरेको सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिए ।

बैठकमा सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको तथा संविधान र लोकतान्त्रिक संस्थामाथि प्रहार भइरहेको निष्कर्ष निकालिएको शिवाकोटीले बताए ।

त्यसैगरी, पासपोर्ट प्रकरण र सुनकोसी–मरिन डाइभर्सन परियोजनामा राज्यका संयन्त्रको दुरुपयोग गरी आर्थिक चलखेल तथा स्वार्थ पूरा गर्न खोजिएको विषयमा पनि बैठकमा छलफल भएको कांग्रेसले जनाएको छ ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशभरका पालिकामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाइएको विषयको विरोधसमेत गरेको शिवाकोटीले बताए ।

कांग्रेसले बैठकका विस्तृत निर्णय शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै