रवि लामिछाने शीतलनिवासबाट निस्किएपछि राष्ट्रपति भेट्दै प्रधानमन्त्री बालेन
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकै दिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि राष्ट्रपति भेट्न शीतलनिवास जाने भएका छन् ।
प्रधानमन्त्री शाहले शुक्रबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । भारतको दुई दिने राजकीय भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग पहिलोपटक भेटवार्ता गर्न लागेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता तथा भ्रमणबाट प्राप्त उपलब्धिबारे राष्ट्रपतिलाई जानकारी गराउने बताइएको छ ।
प्रधानमन्त्री शाह मंसिर ६ गते दुई दिने राजकीय भ्रमणका लागि भारत गएका थिए । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए ।
यसअघि शुक्रबार नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेका थिए । लामिछानेको भेटलगत्तै प्रधानमन्त्री शाह पनि राष्ट्रपति भेट्न जान लागेकाले शीतलनिवासमा हुने यी दुई भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।