राष्ट्रपति भेटघाटले बढायो राजनीतिक चासो, बालेन र रविपछि आङ्देम्बेसंग पनि भेट – Nepalboli

राष्ट्रपति भेटघाटले बढायो राजनीतिक चासो, बालेन र रविपछि आङ्देम्बेसंग पनि भेट

   २०८३ मंसिर १३, शनिबार  

काठमाडौँ— पछिल्ला राजनीतिक घटनाक्रमबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

शनिबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको थियो । भेटमा देशको समसामयिक राजनीतिक परिस्थिति तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ ।

आङ्देम्बेको राष्ट्रपति भेट यस्तो समयमा भएको हो, जतिबेला शीर्ष राजनीतिक नेताहरूबीच भेटघाट बाक्लिएको छ । यसअघि शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि राष्ट्रपति पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

लगातार भइरहेको यस्तो भेटघाटलाई पछिल्लो राजनीतिक परिस्थितिसँग जोडेर हेरिएको छ । यद्यपि भेटवार्तामा भएका विस्तृत छलफलबारे भने सम्बन्धित पक्षले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै