नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द – Nepalboli

नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द

   २०८३ मंसिर १४, आईतवार  

चितवन— नारायणगढ–मुग्लिङ सडकखण्डमा आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । तुइनखोला क्षेत्रमा निरन्तर खसिरहेको पहिरो रोकथामका लागि काम गर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनका अनुसार अर्को सूचना जारी नभएसम्म उक्त समयमा नारायणगढ–मुग्लिङ सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइनेछ । पहिरो रोकथामका क्रममा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

तुइनखोलामा वर्षायाममा मात्रै नभई हिउँदमा समेत पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधानका लागि सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि प्रयोग गरी काम अघि बढाउन लागेको हो ।

पहिरो प्रभावित क्षेत्रमा ठूला ढुङ्गा हटाएर भिरको स्लोप व्यवस्थापन गरिनुका साथै ‘नेलिङ’ प्रविधिमार्फत किला रड ठोकेर भिरलाई मजबुत बनाइनेछ । भिरबाट रसाएर आउने पानी व्यवस्थापन गर्न ‘होरिजोन्टल ड्रेन’ निर्माण तथा बायोइन्जिनियरिङ प्रविधिसमेत प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

यस अवधिमा काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ ।
सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रु तथा चालकलाई आफ्नो यात्रा व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ । सडक बन्दका कारण यात्रुलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमासमेत मागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै