तीन प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ— नेपालमा अहिले कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहे पनि आज केही प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ।
आज दिउँसो हिमाली क्षेत्रका साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । तीमध्ये कोशी, बागमती र गण्डकीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, सोमबार हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान छ।
तराई क्षेत्रमा भने हुस्सु र तुवाँलोका कारण दैनिक जनजीवन तथा सडक यातायातमा प्रभाव पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।