इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग – Nepalboli

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

   २०८३ मंसिर १४, आईतवार  

काठमाडौँ— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा सार्वजनिक भएका आरोप तथा घटनाक्रमको निष्पक्ष छानबिनका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सामाजिक सञ्जालमार्फत प्रकरणको सत्यतथ्य सार्वजनिक गर्दै दोषी देखिए जोसुकैलाई पनि कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन् ।

उनले कांग्रेस सभापति गगन थापालगायत व्यक्तिलाई लक्षित गरी सत्तापक्षबाटै बयानको ‘पटकथा’ तयार पार्ने काम भइरहेको भन्ने आरोप सामान्य विषय नभएको बताएका छन् ।

हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत रूपमा जफत गरी दुरुपयोग गर्ने, तयार पारिएको कागज पढ्न बाध्य पार्ने तथा नमाने फसाइदिने धम्की दिने काम भएको हो भने त्यसले विधिको शासनमाथि गम्भीर प्रश्न खडा गर्ने आङ्देम्बेको भनाइ छ ।

इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनबाट सार्वजनिक भएका विवरणले गम्भीर प्रश्न उठाएको उनले बताएका छन् । अनुसन्धानका नाममा दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु तथा राजनीतिक प्रतिशोधका लागि राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको उनले उल्लेख गरेका छन् ।

‘सरकार अनुसन्धान गर्दैछ कि फसाउने षड्यन्त्र ?’

आङ्देम्बेले प्रधानमन्त्रीबाट यस विषयमा स्पष्ट जवाफ आउनेमा समेत आशंका व्यक्त गरेका छन् ।

उनले प्रश्न गरेका छन्, ‘सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ ?’

यदि अनुसन्धानका नाममा कसैलाई नियोजित रूपमा फसाउने प्रयास भइरहेको हो भने त्यो राजनीतिक प्रतिशोधको विषयमा मात्र सीमित नरहने उनको तर्क छ । यसले राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथि नै गम्भीर चुनौती खडा गर्ने उनले बताएका छन् ।

सत्ता स्थायी नहुने तर राज्यका संस्था, कानुनी शासन र लोकतान्त्रिक मूल्यको विश्वसनीयता स्थायी हुनुपर्नेमा आङ्देम्बेले जोड दिएका छन् ।

कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका लागि दशकौँदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले फरक विचार राख्ने व्यक्तिलाई फसाउने ‘पटकथा’ नभई न्याय सुनिश्चित गर्ने कानुन आवश्यक रहेको बताएका छन् ।

राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार बन्न नहुने भन्दै आङ्देम्बेले सरकारलाई संविधान र विधिको शासनअनुसार अघि बढ्न आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै