कांग्रेस उपसभापति र महामन्त्रीको मतगणनाः १,२२९ मत गन्दा कसको कति मत?
काठमाडौं—नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ ।१ हजार २२९ मतपत्र गणना हुँदा ५ मत बदर भएका छन् भने १ हजार २२४ मत सदर भएका छन् । अहिले तीनवटा बुथको मतगणना भइरहेको छ ।
उपसभापतिको खुलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा डा. चन्द्रकान्त भण्डारीले ६४३ मतसहित अग्रता लिएका छन् । ई. मधु आचार्यले ३६२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरुङले २२३ र प्रा।डा। चन्द्रमोहन यादवले १२९ मत पाएका छन् ।
उपसभापतिको समावेशीतर्फ एक पदका लागि बिनोदकुमार चौधरी ३५७ मतसहित अगाडि छन् । जीवन परियारले ३००, फरमुल्लाह मंसुरले १७७, सीता गुरुङले १५७ र रंजीत कर्णले १०० मत प्राप्त गरेका छन् ।
महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
महामन्त्रीको खुलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा प्रदीप पौडेल ७२३ मतसहित पहिलो स्थानमा छन् । अमरसिंह पुन मगरले ४५५ मत प्राप्त गरेका छन् ।
उदयशमशेर राणाले ४१२, डा. सुनिलकुमार शर्माले ३०९, गुरुराज घिमिरेले १७८, नैनसिंह महरले १३५, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेका छन् ।
महामन्त्रीको महिलातर्फ एक पदका लागि डा.डिला संग्रौला (पन्त) ५३६ मतसहित अगाडि छन् । महालक्ष्मी उपाध्याय (डिना) ले ५१३ र रीता खनालले १४७ मत प्राप्त गरेकी छन् ।
मतगणना जारी रहेकाले उम्मेदवारहरूको मतान्तरमा फेरबदल हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।