कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान, सभापतिमा थापा र खड्गीबीच प्रतिस्पर्धा
काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज शुक्रबार मतदान हुँदैछ। सभापतिसहित नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन समितिको तालिका छ।
यसअघि बिहीबारका लागि निर्धारित मतदान मतपत्र छपाइमा भएको ढिलाइ र आवश्यक प्राविधिक तयारी पूरा नभएपछि स्थगित भएको थियो। तयारी पूरा भएपछि आज मतदान प्रक्रिया अघि बढाउन लागिएको निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन्।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। उनीहरूको मतबाट आगामी कार्यकालका लागि पार्टीको केन्द्रीय नेतृत्व चयन हुनेछ।
सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ। दुवै उम्मेदवारबीचको प्रतिस्पर्धालाई कांग्रेसको आगामी नेतृत्व चयनको मुख्य चासोका रूपमा हेरिएको छ।
मतदान प्रक्रिया सम्पन्न भएपछि मतगणना र परिणाम सार्वजनिक गर्ने प्रक्रिया निर्वाचन समितिको व्यवस्थाअनुसार अघि बढ्नेछ।