अयोध्या–जनकपुर रेल सेवा आज उद्घाटन हुँदै, मंगलबार पहिलो पाहुना रेल आइपुग्ने
जनकपुरधाम — धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेलमार्गले जोड्दै भारतको अयोध्या र नेपालको जनकपुरधामबीच नयाँ रेल सम्पर्क स्थापना हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार अयोध्या–जनकपुरधाम रेल सेवाको औपचारिक उद्घाटन हुने र मंगलबार बिहान पहिलो रेल जनकपुरधाम आइपुग्ने भएको हो ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट भिडियो कन्फरेन्समार्फत संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि अयोध्यामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रेललाई हरियो झन्डा देखाएर जनकपुरधामका लागि बिदाइ गर्ने छन् ।
अयोध्याबाट प्रस्थान गर्ने रेल मंगलबार बिहान ९ः२५ बजे जनकपुरधाम आइपुग्नेछ । रेलमा सर्वसाधारण यात्रु नभई भारतीय पक्षबाट आमन्त्रण गरिएका भारतीय रेलवेका अधिकारीसहित विभिन्न क्षेत्रका करिब १ हजार १ सय अतिथि सहभागी हुनेछन् ।
अतिथिको स्वागतका लागि जनकपुरधाम रेलवे स्टेसनमा पन्डाल निर्माण, सांस्कृतिक कार्यक्रम तथा धार्मिक स्थलको भ्रमणको तयारी गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रेलवे स्टेसनमै अतिथिको स्वागत गर्ने कार्यक्रम छ ।
अतिथिलाई जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत धार्मिक स्थलको भ्रमण गराउन नेपाल रेलवे कम्पनीले करिब एक दर्जन बसको व्यवस्था गरेको छ। जनकपुरधाममा करिब तीन घण्टा बसेपछि रेल पुनः अयोध्याका लागि प्रस्थान गर्नेछ।