जयशंकरको सन्देशः नेपालसँगको विशेष मित्रता भारतको प्राथमिकतामा
नयाँदिल्ली— भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्धलाई विशेष महत्व दिइएको बताएका छन् ।
आइतबार साँझ नयाँदिल्लीस्थित ताज होटलमा प्रधानमन्त्री शाहसँग भेट गरेपछि जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत नेपालसँगको सम्बन्धप्रति भारतको धारणा सार्वजनिक गरेका हुन् ।
जयशंकरले प्रधानमन्त्री शाहसँग भेट गर्न पाउँदा गौरवान्वित महसुस गरेको उल्लेख गर्दै भारतले नेपालसँगको विशेष मित्रतालाई सदैव कदर गर्ने बताएका छन् ।
उनले सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने भेटवार्ता तथा अन्य कार्यक्रमप्रति आफू प्रतीक्षारत रहेको समेत उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका क्रममा आइतबार नयाँदिल्ली पुगेका हुन् । भ्रमणका क्रममा सोमबार शाह र मोदीबीच द्विपक्षीय वार्ता हुने तय भएको छ ।
दुवै प्रधानमन्त्रीबीचको वार्तामा नेपाल–भारत सम्बन्ध, पूर्वाधार, ऊर्जा, स्वास्थ्य, कृषि, शिक्षा, खेलकुद तथा सूचना प्रविधिसहित विभिन्न क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा विभिन्न परियोजनाको उद्घाटन तथा समझदारीपत्र र सम्झौता आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ ।