मोदी–बालेन वार्ता आज, १० क्षेत्रमा सहकार्यको समझदारी हुँदै
नयाँदिल्ली— भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सोमबारको कार्यतालिका उच्चस्तरीय राजनीतिक भेटवार्ता र नेपाल–भारत सहकार्य विस्तारमा केन्द्रित हुने भएको छ । प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुका साथै विभिन्न परियोजनाको उद्घाटन र करिब १० वटा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी तथा सम्झौता आदानप्रदान गर्ने तयारी छ ।
प्रधानमन्त्री शाहलाई सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ । त्यसपछि उनले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।
त्यसपछि बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुनेछ । भेटपछि दुवै देशका प्रतिनिधिमण्डलबीच बिहान ११ः५० बजे द्विपक्षीय वार्ता हुनेछ ।
वार्तामा विपद् व्यवस्थापन, खेलकुद, स्वास्थ्य, कृषि, शिक्षा, ऊर्जा, सडक तथा सूचना प्रविधिसहितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय प्रमुख रूपमा उठ्नेछन् । यस क्रममा भारतको अयोध्या र नेपालको जनकपुरबीच रेल सेवा सञ्चालन तथा धार्चुला–दार्चुला जोड्ने मोटरेबल पुल निर्माणसम्बन्धी विषयमा पनि छलफल हुने तयारी छ ।
द्विपक्षीय वार्तापछि दिउँसो १२ः३५ बजे दुवै प्रधानमन्त्रीले विभिन्न परियोजनाको भर्चुअल उद्घाटन गर्नेछन् । सोही अवसरमा समझदारीपत्र तथा सम्झौता आदानप्रदान गर्नुका साथै संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ ।
यसले भ्रमणका क्रममा दुई देशबीचको आर्थिक तथा पूर्वाधार सहकार्यलाई प्राथमिकता दिइएको देखिएको छ।
भारतीय प्रधानमन्त्री मोदीले दिउँसो १ः१५ बजे प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । त्यसपछि प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नेछन् ।
भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह अपराह्न ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतबार दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका हुन् ।