भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको सन्देशः नेपालमा लगानीको जोखिम छैन, अवसरै अवसर – Nepalboli

भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको सन्देशः नेपालमा लगानीको जोखिम छैन, अवसरै अवसर

   २०८३ मंसिर ८, सोमबार  

नयाँदिल्ली— भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी–व्यवसायीलाई नेपालमा नयाँ लगानी गर्न र यसअघि गरिएको लगानी विस्तार गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै नेपाल लगानीका लागि अनुकूल अवस्थामा रहेको बताएका हुन् ।

भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री वाग्लेले विशेषगरी सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको भन्दै भारतीय लगानीकर्तालाई निर्धक्क भएर अघि बढ्न आग्रह गरे ।

‘सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,’ उनले भने, ‘नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो ।’

सरकारले विदेशी लगानी आकर्षित गर्न कानुनी तथा नीतिगत सुधारलाई थप सरल र लगानीमैत्री बनाउँदै लगेको पनि अर्थमन्त्री वाग्लेले बताए। उनका अनुसार लगानीकर्ताको सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा नाफा फिर्ता लैजान आवश्यक कानुनी प्रक्रियालाई सहज बनाउन सरकारले विशेष पहल गरिरहेको छ ।

नेपालमा भारतीय लगानीको सम्भावना बढाउन निजी क्षेत्रबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो ।

कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद तथा सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरेका थिए ।

राउन्डटेबलमा प्रधानमन्त्री शाहको भ्रमण दलमा सहभागी नेपाली उद्योगी–व्यवसायीका साथै भारतका करिब डेढ दर्जन उद्योगी–व्यवसायी तथा प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै